चितवनः नेपाली काङ्ग्रेस र नेकपा एमाले चितवनले आगमी बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । दुबै दलका उम्मेदवारले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।
बाम लोकतान्त्रीक गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो । श्रेष्ठको प्रस्ताबकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी समर्थक रहनु भएको छ ।
उम्मेदवारी दर्ता पछि पत्रकारहरुसंग कुराकानी गर्दै श्रेष्ठले चितवन निर्वाचनको प्रयोगशाला नभएको बताउनुभयो । उहाँले भन्नुभयो “चितवनका मतदाता सधै मतदान गरेर मात्र बस्ने हो ।” उपनिर्वाचनमा काङ्ग्रेसले जीत हाँसील गर्ने भन्दै उहाँले अहिलेको प्रतिशपर्धा काङ्ग्रेस र एमाले बिचको हुने बताउनुभयो । श्रेष्ठको उम्मेदवारी मनोनयनका क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यय डिनाको उपस्थिति रहेको थियो ।
यस्तै नेकपा एमालेका तर्फबाट उम्मेदवार न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोख्रेल रहनु भएको छ । मनोनयन दर्ता पछि पत्रकारहरुसंग कुराकानी गर्दै न्यौपानेले हावाहुरीको पछी जनता नलाग्ने बताउनुभयो । आफ्नो गुमेको शाख यसपाली एमालेले फिर्ता गर्ने भन्दै उहाँले आफ्नो प्रतिशपर्धी कोही नभएको बताउनुभयो । न्यौपानेको उम्मेदवारी मनोनयनका क्रममा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !