चितवनः यही बैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा बिशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ वजे देखि ४ वजे सम्म ठूला दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिईएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका लागि दिनको १ वजे, नेपाली काङ्ग्रेसका लागि दिनको २ वजे, नेकपा एमालेका लागि दिनको ३ वजे र राप्रपाका लागि दिनको ४ वजे समय तोकीएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोके संगै मनोनयनका लागि दलहरुले आ–आफ्नो तयारी थालेका छन् । यस क्षेत्रको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीत नारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जिवलाल पुरीले उम्मेदवारी दर्ताको तयारी थाल्नुभएको हो ।
रास्वपाका केन्द्रीय सभापति लामिछानेले बिहान १० वजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको उहाँको सचिबालयले जनाएको छ । आफ्नो उम्मेदवारी दर्ता गरे संगै तनहँुमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाले चाँडैं दर्ता गर्न लागिएको उहाँका नीजि सचिब प्रकाश सिग्देलले वताउनुभयो ।
नेपाली काङ्ग्रेसले उम्मेदवारी दर्ता गर्नका लागी दिनको १ वजे चौविसकोठीमा भेला हुन आव्हान गरेको छ । मनोनयन दर्ताका क्रममा काङ्ग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चितवन आउने कार्यक्रम रहेको छ । भेलामा नेताहरुले सम्बोधन गरेपछि जुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभयो ।
नेकपा एमालेका उमेदवार न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्दै हुनुहुन्छ । उमेदवारी दर्ता गर्नुअघि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, राप्रपाका उमेदवार जीवलाल पुरीले ४ बजे उमेदवारी दर्ता गर्दै हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैचोटी सबै दलका उमेदवार पुगेर भिडभाड नहोस् भनेर दलहरुलाई छुट्टा–छुट्टै समय दिइएको हो ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय अध्यक्ष रवि लामिछाने नागरिकता मुद्धामा दोषी ठहर भए संगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस !