चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनैतिक स्थायीत्वको आधार बन्दै गएको बताउनु भएको छ । भरतपुर बिमानस्थलको नयाँ ट्रमिनल भवन निर्माण कार्यको शिलन्यास तथा बिमानस्थल विस्तार कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अव देशमा राजनैतिक स्थायीत्वको आधार बन्दै गएको बताउनुभएको हो ।
नेपालको राजनैतिक स्थायीत्वलाई नयाँ गतिदिने संकल्प सहित आँफु प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो“राजनैतिक स्थायीत्वले पनि नयाँ आधार प्राप्त गर्ने छ भन्ने मलाई विश्वास छ ।” सिंगो राष्ट्रलाई एकतावद्ध वनाएर बिकास र सम्बृद्धिको दिशा तर्फ लैजान आँफु लागि परेको भन्दै उहाँले थप्नुभयो “मेरो चरित्र र बिशेषता भनेको सबैलाई मिलाएर लानेनै रहेको छ ।” आजै मन्त्री परिषद बिस्तारको काम हुने उहाँको भनाई थियो ।
६२ वर्ष अघि सुरु भएको भरतपुरको बिमान उडान कार्य अहिले आएर बिस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले बागमती प्रदेश भित्रको महत्व वोकेको उहाँले बताउनुभयो । यो आयोजना सम्पन्न भए संगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने बताउँदै उहाँले यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुईवटा अन्तराष्ट्रिय बिमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो “मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तराष्ट्रिय उडानको रुटका बिषयमा महत्वका साथ छलफल गर्ने छु ।” लुम्बिनि बिमानस्थलको बिषयमा भारत भ्रमणका क्रममा र पोखरा बिमानस्थलको बिषयमा चीन संग छलफल गर्ने उहाँले बताउनुभयो । सरकारले निजगड बिमानस्थल निर्माणको काममा महत्वका साथ अघि वढाएको उहाँको भनाई छ । द्रुत मार्ग निर्माण संगै निजगड बिमानस्थलको निर्माणको काम समेत अघि वढाईने उहाँले बताउनुभयो ।
मेघौली बिमानस्थल निर्माणको काम सुरु भएको बताउँदै उहाँले त्यहाँ बाट समेत छिट्टै उडान हुने बताउनुभयो । उहाँले भन्नुभयो “चितवनमा रहेको अर्को मेघौली बिमानस्थल समेत सञ्चालनको प्रकृयामा गयो ।”बिमानस्थलहरुको बिकास र बिस्तारले पर्यटनको बिकासका दृष्ट्रिले नयाँ माइलस्टोनको रुपमा काम गर्ने उहाँको बिश्वास थियो । भरतपुर बिमानस्थल बिस्तारका लागि नेपाली सेनाको व्यारेकलाई भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित दियालो वङ्गलामा र घोडा प्रजनन् केन्द्रलाई भरतपुर ११ गणेस्थान नजीक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमती भएको बताउँदै उहाँले स्थानान्तरणका लागि एक दुई दिनमा सहमती हुने बताउनुभयो ।
बिमानस्थल निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीलाई समयमा गुणस्तरीय काम सक्न समेत प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण चाँडै सुरू हुने बताउनु भएको छ । रंगशालाको समस्या एक दुई हप्तामा समाधान हुने र निर्माण कार्य अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “त्यो रंगशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ ।”
कार्यक्रममा नागरिक उड्यन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले सरकार ग्रामिण स्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताउनुभयो । ग्रामिण स्तरको लाईफ लाईनका रुपमा यसको बिकास गर्न मन्त्रालय लागि परेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “हवाई सुरक्षा माथि उठेका प्रश्नहरु शून्य वनाउँदै ग्रामिण स्तरमा समेत सेवा पु¥याउन लागि परेका छौ ।” नेपाल बायुसेवा निगमका जहाजहरुलाई अन्तराष्ट्रिय स्तरमा र आन्तरीक स्तरमा समेत प्रभावकारी वनाउने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “पर्यटकीय क्षेत्रमा नयाँ उडान गर्ने योजना रहेको छ ।”
भरतपुर बिमानस्थलको बिस्तार र ट्रमिनल भवन निर्माण संगै रात्रीकालिन उडान र अवतरण समेत सुरु हुने उहाँको भनाई थियो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमरकट्टेलले भरतपुर बिमानस्थल बिस्तारको कामले बागमती प्रदेशमानै खुशियाली छाएको बताउनुभयो । काठमाडौं पछि प्रदेशमा दोस्रो ठूलो बिमानस्थल चितवनमा बन्न लागेको भन्दै उहाँले यसमा आबश्यक सहयोग प्रदेश सरकारले समेत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “बिमानस्थलको बिस्तारका लागि आबश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको छ ।”
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु उत्तम जोशी, हरि सापकोटा, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नागरिक उड्ययन प्राधिकरणका महाप्रबनधक इ. प्रदिप अधिकारी लगाएतले बोल्नुभएको थियो ।
नयाँ ट्रमिनल भवन र बिस्तारको काम सुरु गरिएको यस बिमानस्थल सन् १९५८ सालमा निर्माण कार्य सम्पन्न भई पहिलो उडान सन् १९६१ मर्च ५ मा भएको थियो । सन् १९९४ मा १ हजार १५८ मिटर धावन मार्ग वनाईएको सो बिमानस्थलको सन् १९९८ मा एसियाली बिकास बैंकको सहयोगमा कालोपत्रे गर्ने काम सम्पन्न भएको सो अवसरमा जानकारी दिईएको थियो । देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तराष्ट्रिय बिमानस्थल वनाउने उद्धेश्यले अध्ययन गरिएको भए पनि बातावरणिय र पर्यावरणीय दृष्ट्रिकोणले क्षति हुन सक्ने भएपछि काम अघि वढ्न सकेको थिएन । ५८ विगाह क्षेत्रफलमा फैलिएको यस बिमानस्थलको धावनमार्ग अहिले १ हजार २ सय मिटरको रहेको छ । बिसतार पछि धावनमार्ग १ हजार ५ सय मिटर हुने छ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहज रुपमा उपभोग गर्न सक्ने गरी बनाउन लागिएको छ । १४ कठ्ठा क्षेत्रफलमा ८ हजार वर्ग मिटरको दुई तले ट्रमिनल भवन निर्माण गरीने छ । भवन संगै ८ तले कन्ट्रोल टावर, पार्कीङ, जस्ता अन्य संरचना निर्माण गरिने छ । यसका लागि रु १ अर्ब ९२ करोडका निर्माण कम्पनीहरु केसी– क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !