चितवनः जिल्लामा रहेका आठ जना बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ सय ९२ जनामा क्षयरोग देखिएकोमा आठ जना बालबालिका हुन् ।स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्कमित बालबालिका मध्ये भरतपुर महानगरपालिकामा ३ जना, रत्ननगर नगरपालिकामा २ जना, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा १÷१ जना रहेका छन् । १४ वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिने क्रम बढ्दो रहेको उहाँले बताउनुभयो ।
बालबालिकामा बढी संख्यामा ग्रन्थी, पेट र आन्द्रामा क्षयरोग देखिने गरेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेका छन् । बालबालिकामा स्वासप्रश्वास र जुठो खाने कुरा खाँदा बढी मात्रामा सर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि हुने गरेको छ ।” विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो ।
गत आर्थिक बर्षमा जिल्लामा १ हजार १९६ जनामा क्षयरोग देखिएकोमा ३१ जना बालबालिकामा सङ्क्रमण भेटिएको थियो । यस्तै आर्थिव वर्ष २०७७÷०७८ मा जिल्लामा सङ्क्रमितको संख्या ८ सय ९३ रहेको थियो । जस मध्ये १८ जना बालबालिका रहेका थिए ।
क्षयरोग लाग्दा दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनु मुख्य लक्ष्यण रहेको दवाडीले बताउनुभयो । यो रोग लागेमा नियमित ६ महिना औषधि सेवन गर्नुपर्छ । स्वास्थ्यकर्मीको निगरानीमा समय समयमा खकार जाँच गर्न सके समयमा नै निको हुने उहाँले बताउनुभयो ।





