चितवनः भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै एक ७७ वर्षे बृद्ध जोश जाँगर लिएर आउनुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी विदा भएर घरघर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ । उहाँको एउटै चिन्ता छ –अस्पताललाई कसरी समय सापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखिको यो दैनिकी अहिले पनि निरन्तर चलिरहेको छ ।
आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उहाँको परिचय हो । भरतपुर महानगरपालिका वडा नं. १० निवासी चिजकुमार मास्के जसलाई आँखा बाको रुपमा यहाँ चिन्ने गरिन्छ । नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले आँखा बा भन्दै गर्दा मोफसलमा मास्केले आँखाबाको उपमा पाउनु भएको छ ।
बि.सं. २०४२ सालमा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्येका एक मास्के हुनुहुन्छ । तत्कालिन समयमा २० जना समाजसेवि मिलेर नेपाल नेत्रज्योति संघ मार्फत् बि.सं. २०४४ सालमा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो । शुरुका दिनमा तिनै समाजसेवीले मासिक रु. १ हजार र पछि एकमुष्ठ रु. ५ हजार संकलन गरेर सञ्चालनमा ल्याईएको यो अस्पतालले क्रमशः विकासको गति लिन सफल भयो । लामो समयसम्म थोरै बिरामीले सेवा पाएको यस अस्पतालमा बि.सं. २०६० सालपछि भने फड्को मार्न सफल भयो । त्यसका नेतृत्वकर्ता मास्के नै हुनुहुन्छ ।
शुरुवातीदेखि नै समूहमा उहाँ रहे पनि जुन समयदेखि उहाँले नेतृत्व सम्हाल्नुभयो, अस्पतालले ठूलो सफलता हात पा¥यो । बि.सं. २०६० सालमा सेवा फाउण्डेशनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको हो ।
मास्के भन्नुहुन्छ “बि.सं. २०६७ सालबाट अस्पताल आफै खर्च धान्ने अवस्थामा पुग्यो ।” त्यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे । एक दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो संख्या वार्षिक तीन लाख नाघेको छ ।
विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिनुभएका मास्केले विसं २०४२ यता आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताउनुभएको छ । नेपाल नेत्रज्योति संघको संस्थापक सदस्य मास्के संघको कोषाध्यक्ष, उपसभापति, दुई पटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पु¥याउनु भएको हो । नेपाल नेत्रज्योति संघको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसक्नुभएका मास्के अहिले पनि संघको केन्द्रीय सदस्य हुनुहुन्छ । ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनु पर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मा¥यो । उहाँ सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनु परेको छैन ।
उहाँले भन्नुभयो, “मैले नेतृत्व छाड्दाको दिनमा अस्पतालको खातामा रु ११ करोड हाराहारी रकम संकलन भएको थियो ।” सभापति हुनु अघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छोड्दै गर्दा ६०० पुगेको उहाँ बताउनुहुन्छ । आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकोमा छोड्दै गर्दा यो संख्या आठ हजार पु¥याउन सकेकोमा उहाँलाई गर्व छ । उहाँको निरन्तरको साथका कारण अहिले बिरामीको संख्या बढ्दै गएको छ ।
अस्पतालको दुई वटा उपचार केन्द्र हुँदै गर्दा सभापति हुनुभएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा हुनुभयो । अहिले उपचार केन्द्रको यो संख्या १४ पुगेको छ । तीन वटा थप गर्ने तयारीमा छ । उहाँले स्मरण गर्नुभयो, “म सभापति हुँदै गर्दा दुईजना विशेषज्ञ चिकित्सकसहित २५ जना कर्मचारी थिए, अहिले यो संख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित १५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ ।” अस्पतालमा एमडि अध्ययन गर्ने मात्रै नौ जना चिकित्सक छन् भने तीन जनाले फेलोसिप गरिरहेका छन् । नेत्र सहायक र स्नातक समेत अध्ययन अध्यापन हुँदै आएको छ । अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन् ।
जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उहाँलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उहाँको महत्वपूर्ण योगदान छ । उहाँकै पालामा भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग सञ्चालनमा आएको हो । आफूले पहिलो पटक सभापति भईसकेपछि अरु साथीहरुलाई पालो दिन्छु भन्दा दाताहरुले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उहाँ बताउनुहुन्छ ।
आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङ्कङ्ग, बैंकक लगायतका सहरमा पुग्नुभएको छ । उहाँलाई एशिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी कंग्रेसले सम्मान समेत गरिसकेको छ । नेपाल नेत्रज्योति संघ केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा उहाँलाई “लाईफटाईम अचिभमेन्ट अवाड’ ले सम्मान गर्दैछ । स्वयंसेविहरुलाई पहिलो पटक यो अवार्ड दिन लागिएको हो ।
संघका केन्द्रीय महासचिव भरतबहादुर चन्द मास्केलाई मोफसलको आँखा बाको उपमा दिन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “उहाँको इमान्दारिता र खटाईका कारण भरतपुर आँखा अस्पताल यो अवस्थामा पुगेको हो ।”
एकजना व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ । भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन् । मास्केले आफू बाँचुञ्जेल अस्पतालको सेवा गरिरहने ईच्छा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो “जुनदिनसम्म आँखा देखेर हिड्न सक्छु, त्यसदिनसम्म आँखा उपचारको स्वयंसेवि भएर सेवा गर्छु ।”






