चितवन: एकिकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिकाका दुईवटा सडक आज शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सडकको शिलान्यास गर्नु भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर २५ बिशाल चोक देखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुल सम्म जोड्ने ५ दशमलव ६ कि.मी. सडक र वडा नम्बर ९ को तिनतले चोक देखि काँडाघारी हुँदै एपोलो पेन्ट सम्मको करिब १ दशमलव २ कि.मी. सडक आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजनाले सडक निर्माणको काम सुरु गरेको हो ।
सडकको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले महानगरलाई स्मार्ट सिटी निर्माणका क्रममा सडकहरु निर्माणको काम तीब्र बनाईएको बताउनुभयो । महानगरवासीलाई सडक सञ्जालसंग सहजता सृजना गर्न लागि परेको उहाँको भनाई छ । महानगरपालिका सडक संगै अन्य विकास निर्माणका काममा समेत अग्र स्थानमा रहेको बताउँदै उहाँले अहिलेको प्याकेजमा रु ५० करोड बराबरको काम हुने बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको प्याकेजमा सडक निर्माण, नारायणी नदी किनार व्यवस्थापन, बसपार्क निर्माण लगायतका क्षेत्रमा काम हुँदै छ ।” महानगरपालिका भित्र रिङ् रोड र लिङ्क रोड निर्माण कार्य अघि बढिरहेको उहाँको भनाई छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा समस्या भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले विकासका हरेक गतिविधिमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । स्थानीय जनताको खबरदारीले नै विकासका कामहरुले तिब्रता पाउने बताउँदै उहाँले समयमा काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई खबरदारी गरिरहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “समयमा काम सक्नुस् । हामी सम्मान गछौ ।” सडक सञ्जाल बिस्तार संगै जनताको जीवन यापनमा समेत सहजता हुने बताउनुभयो ।
कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका लेखा अधिकृत ओम वहादुर खड्का, वडा नम्बर ८ का वडा अध्यक्ष जीवनाथ कडेंल, वडा नम्बर ९ का वडा अध्यक्ष यमलाल कडेंल, वडा नम्बर २५ का वडा अध्यक्ष छविलाल सापकोटा, पूर्ब अध्यक्ष बिजय भूजेल लगाएतले बोल्नुभएको थियो ।
दुबै सडक निर्माणका लागि महालक्ष्मी÷ ओम सत्य साई जेभी भरतपुरले जिम्मा लिएको हो । वडा नम्बर २५ को सडक निर्माणका लागि कर बाहेक रु १० करोड ८६ लाख ५३ हजार ४३५ र वडा नम्बर ९ को सडक कर बाहेक रु २ करोड १९ लाख ८ हजार १९३ लागतमा निर्माण गर्न लगिएको हो ।






