चितवन: भरतपुर महानगरपालिकामा रहेको न्यायीक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चार वटा मुद्धा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्धा मध्ये चारवटाको फैसला भएको हो ।
भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरिक्षक कृष्ण प्रसाद सापकोटाका अनुसार फैसला भएका मध्ये एउटा मुद्धा जिल्ला अदालत चितवन गएको छ । अन्य दुईवटा क्षेत्राधिकार भन्दा बाहिर भएकाले अदालत पठाईएको उहाँले बताउनुभयो । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजीमका मुद्धाहरु महानगरपालिकाको न्यायीक इजलासमा आउने गरेका छन् ।
जस अन्तर्गत साध सिमाना, बालिनाली क्षती, बाटो निकास, मानाचामल र घरवहाल सम्बन्धि मुद्धाहरु यस इजलासले हेर्ने गर्दछ । सापकोटाका अनुसार मेलमिलापका लागि २२ वटा ठाडो उजुरीहरु दर्ता भएका छन् । जस मध्ये १४ वटा मुद्धा उजुरीको मेलमिलाप भईसकेको छ भने ८ वटा छलफलको क्रममा रहेका छन् । महानगरमा आउने मुद्धा र उजुरीहरुमा अधिकांश साध सिमानाका हुने गरेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरको न्यायीक समितिका संयोजक चित्रसेन अधिकारीले आफ्नो पालिका भित्र दुबै पक्षको हित हुने गरी निर्णयहरु हुने गरेको बताउनुभयो । हरेक वडा कार्यालयमा मेलमिलाप समिति रहेको बताउँदै उहाँले सुरुवाती समयमा वडामा बिबाद मिलाउने प्रयास हुने र वडामा मल्नि नसकेमा महानगरको मेलमिलाप समितिमा आउने बताउनुभयो । महानगरको मेलमिलाप समितिबाट समेत मेलमिलाप हुन नसकेको मुद्धाहरु मात्र न्यायीक समितिमा आउने उहाँको भनाई छ । न्यायीक समितिले पहिलो पक्ष र दोस्रो पक्षलाई वोलाएर छलफल गरी दुबै पक्षको हित हुने गरी निर्णय गर्ने उहाँले बताउनुभयो । न्ययीक समितिबाट समेत समस्या समाधान हुन नसकेको खण्डमा मात्रै अदालत पठाईने अधिकारीले जानकारी दिनुभयो ।






