चितवनः नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई चितवनवासीले सधैं सम्झिरहन्छन् । उहाँकै नेतृत्वमा जिल्लामा भएका महत्वपूर्ण ६ कामका लागि उहाँलाई सम्झिरहेका हुन् । ती कामहरुले जिल्लाको समग्र विकासमा नै फड्को मार्न सफल भएको छ ।

पचासको दशकमा जिल्लाले विकासमा फड्को मा¥यो । तत्कालिन जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटाका अनुसार कोईराला प्रधानमन्त्री हुँदा चितवन राष्ट्रिय निकुञ्जकोभित्रको पदमपुर गाउँ विकास समिति निकुञ्ज बाहिर सारियो । त्यति नै बेला राप्तीमा बाढीका कारणा पूर्वी चितवनका धेरैजसोले जनधन गुमाए । त्यहाँ राप्ती तटबन्धनका लागि ड्याकको काम भएको उहाँ बताउनुहुन्छ ।

भरतपुरमा चीन सरकारको सहयोगमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बन्यो । माडी आवतजावतका लागि राप्ती नदीमा पुल निर्माणको काम भयो । माडी ठोरी हुलाकी सडकको काम पनि त्यति बेला नै भएको सापकोटा बताउनुहुन्छ । भारतीयको लगानी रहेको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल चितवन ल्याउनमा पनि कोईरालाको योगदान स्मरणीय रहेको छ ।

विगतलाई सम्झँदै सापकोटाले भन्नुभयो “गिरिजाबाबु चीन हुनुहुन्थ्यो, उहाँले मलाई फोन गर्नुभयो । चिनियाहरुले वीपी बाबुको नाउँमा क्यान्सर अस्पताल खोल्न खोज्दैछन् । जग्गा खोज्न सकिन्छ ? भनेर सोध्नुभयो । मैले सकिन्छ भनेँ ।” आफू जिविस सभापति भएकाले उहाँले त्यहीबाट टेलिफोनमा सोधेको उहाँको भनाई छ ।

गिरिजाबाबु चीनबाट फर्किएपछि त्यहाँको चिनिया टोली चितवन आएको सापकोटाले बताउनुभयो । पूर्वी चितवनका कांग्रेस नेता शेषनाथ अधिकारीले त्यही क्षेत्रमा अस्पताल खोल्न चिनिया टोलीलाई जयमंगला र खैरहनी गौचरन देखाएपनि भरतपुरको जग्गामा चिनियाहरु अस्पताल बनाउन राजी भएको सापकोटाले बताउनुभयो ।

राप्ती नदीमा बाढीले ठूलो धनजनको क्षति गरेपछि त्यहाँ अनुगमनमा आईपुग्नु भएका कोईरालाले राप्तीमा तटबन्धन ड्याक मात्रै होइन, त्यहाँबाट माडी पुगेर पुल निर्माणको घोषणा गरेको सापकोटा बताउनुहुन्छ । विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पुल निर्माण कठिन भएपनि कोईरालाले जनताको आवश्यकतालाई महसुस गरी अन्य कुरालाई वेवास्ता गर्दै पुल बनाएको सापकोटा स्मरण गर्नुहुन्छ ।

यससँगै भरतपुर–माडी ठोरी हुलाकी सडक निर्माणमा कोईरालाको योगदान छ । निकुञ्ज स्थापनाको समयमा नै त्यहाँको पदमपुर गाउँपालिकालाई स्थानान्तरण गर्ने भनिए पनि सम्भव भएको थिएन । कोईराला प्रधानमन्त्री हुँदा निकुञ्जभित्रको बस्ती पदमपुर पूर्वी चितवनमा स्थानान्तरण गर्ने काम भएको छ ।

पदमपुर स्थानान्तरण समितिका अध्यक्ष बाबुराम पुरीका अनुसार कोईरालाको दह्रो निर्णयका कारण झण्डै २ हजार ४ सय घरधुरी पदमपुरवासीलाई हालको कालिका नगरपालिकामा सुरक्षित ठाउँमा स्थानान्तरण सम्भव भएको हो । उहाँले भन्नुभयो “सिंगो गाउँ विकास समिति स्थानान्तरण सहज थिएन ।”

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बनेसँगै यहाँ भारतीयहरुको लगानीमा कलेज अफ मेडिकल साईन्सेस स्थापना भएको हो । सापकोटाले विगतलाई सम्झँदै भन्नुभयो “हामीले गिरिजाबाबुसँग डेलिगेसन गयौं, शुरुमा उहाँले त्यहाँ क्यान्सर अस्पताल छ, मेडिकल कलेजलाई नेपालगञ्ज लैजानुपर्छ भन्नुभयो । हामीले क्यान्सर अस्पताल भएकै कारण मेडिकल कलेज पनि चितवनमा चाहिन्छ भन्यौं ।” बेलाबेलामा मेडिकल कलेजका सञ्चालक डा.भि नटराजप्रसादले गिरिजाबाबुले आफूहरुलाई यहाँ ल्याएपनि पछिल्ला वर्षहरुमा सरकार र कांग्रेसले आफ्ना कुरा सुनुवाई नगरेको गुनासो गर्दै आउनु भएको छ ।

नेपाली कांग्रेसका तत्कालिन सभापति टिकाराम न्यौपाने कोइराला प्रधानमन्त्री र यातायात मन्त्री खुमबहादुर खड्काका कारण हुलाकी सडक र पुलका काम भएको स्मरण गर्नुहुन्छ । न्यौपानेले भन्नुभयो “गिरिजाबाबुको पालामा जे जति काम चितवनमा भए त्यसपछि ठूला काम हुन सकेनन् ।” साना तिना धेरै काम गिरिजाबाबुको पालामा चितवनमा भएको उहाँको भनाई छ ।

पार्टीको तर्फबाट भेटेर गरिएका माग अनुसारका काम उहाँले गरेको न्यौपानेको भनाई छ । जिल्लामा भएका कामहरुलाई विपक्षीहरुले पनि मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । नेकपा (एमाले) का पूर्व जिल्ला सचिव विजय सुवेदीले चितवनको विकास निर्माणमा कोईरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । चितवन क्षेत्र नं. १ का पूर्व सांसद स्व.जागृतप्रसाद भेटवाललाई उदृत गर्दै सुवेदीले पूर्वी चितवनमा ड्याक निर्माणका लागि अन्यत्रको बजेट काटेर यहाँ ल्याउन कोईरालाको योगदान रहेको बताउनुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कोईरालाको स्मरण गर्दै गर्दा देशभरमै महत्वपूर्ण विकासका काम चितवनमा भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, यातायात लगायतका पूर्वाधारमा उहाँको योगदान स्मरणीय रहेको उहाँले बताउनुभयो । कोईरालाकै पालामा पूर्वी चितवनमा दूध प्रशोधन उद्योग स्थापना भएपनि त्यसले भने सफलता प्राप्त गर्न सकेन । कोईरालाको आज स्मृति दिवस मनाउँदै गर्दा जिल्लावासीले उहाँले गरेका महत्वपूर्ण विकास निर्माणका कामलाई सम्झिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !