चितवन:ऐतिहाँसिक महत्व वोकेको मेघौली बिमानस्थलको स्तरोन्नती गरिने भएको छ । बिमानस्थलको घाँसे मैदानको रुपमा रहेको धावनमार्गलाई ग्राबेलीङ् गर्ने र तारवारलाई व्यवस्थित बनाएर बिमानस्थलको स्तरोन्नती गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इन्जिनियर नल बिक्रम थापाका अनुसार ६ महिना भित्रमा ती काम सम्पन्न गर्ने गरी वोलपत्र आव्हान गरिएको छ । धावन मार्गमा ग्रावेल बिच्छ्याएर सम्याइने छ । यस्तै अहिले भईरहेको तारवारलाई व्यवस्थित वनाईने छ । हाल धावनमार्गमा घाँस भएको र खाल्डाखुल्डी समेत पर्ने हुँदा जहाज उडान र अवतरणमा समस्या हुँदै आएको छ । बिमानस्थलको सुरक्षाका लागि लगाईएको तारवार ठाउँठाउँमा चुडिएको र पोल ढलेकाले मानिस र जनावर छिर्ने हुँदा असुरक्षा समेत हुँदै आएको छ ।

थापाका अनुसार रु १ करोड ५० लाख हाराहारीमा स्तरोन्नती गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले बिगत केही वर्ष यता देखि सो बिमानस्थल स्तरोन्नतीका लागि क्यानलाई अनुरोध गर्दै आएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेनै नियमित उडान नभए पनि चार्टर र आपतकालिन उडान गर्न मिल्ने गरी बिमानस्थललाई व्यवस्थित वनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले ग्राबेल धावन मार्ग हुन्छ । पछि कालो पत्रे वन्ने छ ।” भरतपुर महानगरपािलका भित्र दुई वटा बिमानस्थल रहेका छन् । भरतपुर बिमानस्थललाई बिस्तार गर्न महानगरले नेतृत्वको अगुवाई गर्दै आएको छ ।

दाहालले महानगर भित्रका दुबै बिमानस्थल स्तरोन्नती र बिस्तार गरी जुनसुकै समयमा पनि सञ्चालन गर्न सक्ने गरी काम गर्न लागिएको बताउनुभयो ।

सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मंसिर देखि मेघौली विमानस्थल बन्द रहेको छ । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित उडान भएको छैन । नेपाली सेनाले तालिमका लागि बिमानस्थलको प्रयोग गर्दै आएको छ । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जंगल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए ।

बिगतमा कुनै समय मेघौली बिमानस्थलमा १० वटासम्म जहाजले उडान भर्ने गरेको तथ्यउाङ्क रहेको छ । भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी मेघौली बिमानस्थलले पश्चिम चितवनको बिकासमा टेवा पुग्ने बताउनुभयो । मेघौली क्षेत्रमा ठूला पर्यटकीय होटलहरु वढ्दै गएकाले बिमानस्थलको स्तरोन्नती भए संगै चार्टर उडान र भविश्यमा नियमित उडान समेत हुन सक्ने बताउनुभयो । महानगरपालिकामा जनप्रतिनिधि आए संगै दुबै बिमानस्थल व्यवस्थित गर्न लागि परेको उहाँको भनाई छ । मेघौली नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि प्रबेश गर्न सहज छ ।

प्रतिक्रिया दिनुहोस !