चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण रोकीएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि वढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले संघिय सरकारसंग पहल गरेर तिर्नुपर्ने रकम मन्त्री परिषदबाट निर्णय गरी भूक्तान गराएर कामलाई अघि वढाउन लागिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रीपरिषदबाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तलि फान्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडे पछि झण्डै २ वर्ष देखि रंगशाला अलपत्र अवस्थामा रहेको छ । फाउण्डेसनले बिभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भूक्तान गर्न बाँकी रहेको जनाएको छ । भूक्तानी रकम तिर्ने बिषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भूक्तान दिनुपर्नेहरुलाई सरकारी तवरबाट रकम निकासा गरी भूक्तानी गरेर नयाँ प्रकृयाबाट रंगशालाको काम गर्न लागिएको हो । उहाँले भन्नुभयो “रकम तिर्नु पर्ने नभएको भए पहिलेनै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाई भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालिन सहरी बिकास मन्त्रालयका सह–सचिब प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययन समेत गराएको छ ।
सो समितिले प्राबिधिक र आर्थिक प्रतिबेदन बुझाई सकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भूक्तानी तिरेर संघिय सरकारले बोलपत्र आव्हान गरी काम अघि वढाउँदै छ । यो रंगशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालिन चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रंगशाला स्थापनाकाल देखिनै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालको समेत चाहना रहेको छ । तिर्नुपर्ने भूक्तानीको टुङ्गो लागे संगै सके सम्म यसै आर्थिक वर्षबाट बहुवर्षिय आयोजना भित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाई छ ।
भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयको नाममा लालपूर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाह ६ कठ्ठा जग्गा उपलव्ध गराएको थियो । निर्माणको समयमा फाउण्डेसनले भूक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । वि. सं. २०७५ साल माघ १६ गते महानगरपालिका र फाउण्डेसन बिच भएको सहमती अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ ।
फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ । जस मध्ये नगद र जिन्सी गरी ३९ करोड ८० लाख उठेको कट्टेल बताउनुहुन्छ । रकम तिर्न नसके पछि बि. सं. २०७७ साल साउनबाट रंगशाला निर्माणको काम रोकीएको हो । निर्माणका क्रममा सार्बजनिक खरिद ऐन अनुसार काम नभएका कारण सरकारी निकायले भूक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमती बिपरित फाउण्डेसनले भूक्तानी तिर्नुपर्ने अबस्थामा हस्तान्तरण गरेको भन्दै बिमती जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !