चितवनः जिल्लाको कालिका नगरपालिका वडा नं. ७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृत अवस्थामा भेटिएको छ । वनको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत भेटिएको हो ।

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी ६ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुन सक्ने अनुमान छ । शनिबारै पोष्टमार्टम गरेर बाघको नमूना परीक्षण शुरु गरिएको छ ।

दिउँसो २ः३० बजे मृत बाघ भेटिएको हो चिकित्सकलाई उदृत गर्दै उहाँले झण्डै १२ घण्टा अघि बाघ मरेको हुन सक्ने बताउनुभयो । बाघको मुख र मलद्वारमा सेतो फिँज र पेटमा बाख्राको अंग भेटिएको उहाँले जानकारी दिनुभयो । यो वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो । गत वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन ।

जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ वटा बाघ रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस !