चितवनः चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा १ लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनले प्रतिनिधि सभा निर्वाचन २०७९ को तुलनामा यस पटक पाँच सय हाराहारी मतदाता थपिने जनाएको छ ।
कार्यालयका प्रमुख भिमशेन कार्कीका अनुसार चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन पछि ६ सय ३१ जनाले नाम दर्ता गराएका थिए । प्रतिनिधि सभा निर्वाचनमा १ लाख २४ हजार २१५ जना मतदाता रहेका थिए । यो संगै अहिले १ लाख २४ हजार ८४६ जनाको नामावली दर्ता भएको छ । उनीहरु मध्ये जिल्ला निर्वाचन कार्यालय चितवनले वडा कार्यालयबाट मृत्यु भएका मतदाताको विवरण माग गरि छानिवन गरेको उहाँले जानकारी दिनुभयो । दाबी विरोधमा नयाँ थपिएका मतदाताको जाँचबुझ र मृत्यु भएका मतदाताको विवरण कार्यालयले आज निर्वाचन आयोगमा पठाउँने उहाँले बताउनुभयो । बैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी बिरोधका कार्यक्रम सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरि २ सय जना हाराहारी मतदाताको नामावली काटिने छ ।”
चितवन क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । कार्यालयले जाच बुझ पछि काटिने नामावली सहित १ लाख २४ हजार ८४६ जनाको नामावली पठाउन लागेको हो । कार्यालयले पठाएका नामावलीबाट अन्तिम नामावली चैत १५ गते प्रकाशन हुने उहाँले बताउनुभयो । मतदाता नामावली प्रकाशन संगै चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीने कार्यतालिका रहेको कार्कीले जानकारी दिनुभयो ।
चैत २० गते उमेदवारी दर्ता, चैत २१ गते उमेदवार बिरुद्ध दाबी विरोध, २२ गते उम्मेदवारको नामावली प्रकाशन र २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशन संगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रममा रहेको छ । गत निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मात्रै मतदान भएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको नागरिकता विवादमा सार्वोच्चले प्रतिनिधि सभा सदस्य पद समेत खारेज गरे संगै यहाँ उपनिर्वाचन हुन लागेको हो । यस अघिको निर्वाचनमा दोस्रोमा नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका तर्फबाट कृष्ण भक्त पोख्रेलले तेस्रो स्थानमा मत ल्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !