चितवनःजिल्लाका दुईवटा वाडामा एक पकेट खोरेत रोग मुक्त अभियानको तयारी सुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ र रत्ननगर नगरपालिका वडा नम्बर १२ मा अभियान सञ्चालन गर्न लागिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुईवटा वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट बिनियोजन गरिएको छ । दुई वडामा १० हजार डोज खोरेत बिरुद्धको भ्याक्सिन लगाउने तयारी गरिएको छ । तयारी स्वारुप स्थलगत अध्ययनको काम सकिएको उहाँले बताउनुभयो । गाई, भैसी, बंगुर, बाख्रा र भेडामा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । यी मध्ये गाई भैसीमा बढी संख्यामा खोरेतको समस्या देखिने गरेको छ ।
ती वडामा रहेका पशु चौपायाको अबस्थाको अध्ययन सकेर खोप अभियान सुरु गर्ने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । खोप अभियानका क्रममा बर्षमा दुई पटक खोरेतको खोप पशु चौपायमा लगाइने छ । नेपाल सरकारको सन् २०३० सम्म खोरेत न्यूनिकरण गर्ने लक्ष्यलाई सफल बनाउनका लागि यो अभियान सञ्चालन गरिएको हो । अभियान संगै यस वर्ष जिल्लामा १ लाख १० हजार खोरेत रोग बिरुद्धको खोप पशुचौपायमा लगाईने छ । गत आर्थिक वर्षमा समेत सोहि संख्यामा खोप लगाईएको कार्यालयले जनाएको छ ।
खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्री सम्मको ज्वरो आउने, घासपात नखाने, झोक्राउने, गिजा र जिव्रोमा स–साना फोकाहरु आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले ¥याल चुहीने, व्याउने माउहरु गर्भ तुहिने समस्या देखिने, दुध दिईरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्ष्यणहरु देखा पर्ने उहाँले बताउनुभयो । रोग लागेमा मुखको घाउमा पोटास पानीले सफागरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उहाँ सुझाउनुभयो । निलोतुथोले घाउ सफा गर्ने, घाउहरुमा अन्य जिपाणु प्रबेश गरी संक्रमण नगरुन भन्नका लागि एन्टीवायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेत बिरुद्धको खोप लगाउने गर्नु पर्ने न्यौपानेले बताउनुभयो ।
नेपालमा पहिलो पटक नमुनाको रुपमा यो अभियान गर्न लागिएको हो । खोरेतका कारण बर्षेनी पशुचौपायामा समस्या देखा पर्दा कृषकहरुले नोक्सानी वेहोर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !