चितवनः राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामिछानेले आफ्नो पाटी अहिले सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मुल्याङ्कन गर्नेकाम भईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारमा जाने तयारी भन्ने होईन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” अहिले मन्त्रीपरिषद बिस्तारको क्रम सुरु हुन लागेको बताउँदै उहाँले सत्ता समिकरण परिवर्तन भए पछि सरकारमा जानु परे कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताउनुभयो । उहाँले थप्नुभयो “अहिले सरकारमा जाने नजाने भन्ने बिषयमा पार्टीभित्र छलफल भएको छैन ।” राष्ट्रपति, उपराष्ट्रपतिको निर्बाचनको चरणमा देश रहेको बताउँदै उहाँले यी कामहरु पनि चरण आए पछि छलफलबाट हुने बताउनुभयो ।
रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला घटनाक्रमहरु नियाल्दै गरेको बताउनुभयो । आफ्नो दलको राजनैतिक अभ्यास सुरुबाती चरणमा रहेको बताउँदै उहाँले अहिले धैर्यताका साथ काम गर्ने बताउनुभयो । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अबस्थामा अब के गर्ने भन्ने बिषयमा पार्टीभित्र छलफल हुने उहाँको भनाई थियो ।
आगामी बैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो । रास्वपाले आन्तरिक तयारी थालिसकेको बताउँदै उहाँले उपनिर्वाचनमा सबै दलहरु आ–आफ्नो उम्मेदवारका साथ आउने बिश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “निर्वाचनमा सबै दलले आ–आफ्नो मुद्धा र उम्मेदवारका साथ आउनुहुन्छ ।” निर्वाचनमा बिशेष परिस्थिति बाहेक दलले गठवन्धन गरेर लड्ने चिज नभएको उहाँले बताउनुभयो । आँफु अहिले निर्वाचनको प्रचार प्रसारलाई फरक शैलीमा लैजान खोजेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “जनताको समस्या समाधान गर्दै निर्वाचनको प्रचार प्रसारमा लाग्छौ ।”

प्रतिक्रिया दिनुहोस !