चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको छ । भरतपुर महानगरपालिका र जापानको योकोसुका शहरबीच भगिनी सम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहनु भएका प्रमुख दाहालले यो अभियानमा सहभागी हुन गैरआवासीय नेपाली संघ (एनआरएनए), जापान मार्फत जापान सरकारलाई निम्तो दिनु भएको हो ।
एनआरएनए जापानले आयोजना गरेको कार्यक्रममा भरतपुर भ्रमण वर्षबारे प्रमुख दाहालले प्रकाश पार्नुभएको थियो । महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार दाहालले “संरक्षणको लागि पर्यटन, पर्यटनको लागि भरतपुर” भन्ने नाराका साथ भ्रमण वर्ष आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र अन्य राष्ट्रमा रहेका नेपाली र गैर नेपालीलाई सहभागीता तथा पर्यटकहरुलाई भ्रमण वर्षको प्रर्वद्धन गर्न प्रमुख दाहालले आह्वान गर्नुभयो ।
भरतपुर महानगरपालिका अनुपम प्राकृतिक सौन्दर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण मध्य नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताउदै उहाँले अभियानलाई सफल बनाउन आवश्यक प्रचार प्रसार, समन्वय र सहकार्य गर्न उाहँले अपिल समेत गर्नुभयो ।
महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृंखलाको दृश्यावलोकन जस्ता प्राकृतिक आकर्षण तथा संग्रहालय, पार्क, धार्मिकस्थल रहेको चर्चा गर्दै उहाँले पर्यापर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, सभा–सम्मेलन पर्यटन आदिको विकास भइरहेको बताउनुभयो ।
भरतपुर भ्रमण वर्ष २०२४ मा दुई लाख जना बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, नेपाल सरकारका विभिन्न मन्त्रालयका कर्मचारी र नेपालका अन्य स्थानीय तहका प्रमुख तथा राजनैतिक प्रतिनिधिसँग भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल गरिएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, वाईसिएल नेपालका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपसिखा’, नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अर्जुन पाठकको उपस्थिति रहेको अधिकारीले जानकारी दिनुभयो ।






