चितवनः नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु गरेको छ । नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा कालिका नगरपालिकाबाट वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु गरिएको हो ।
अभियानको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले शनिबार एक कार्यक्रमका बिच उद्घाटन गनुर््भयो । रेग्मीले वित्तीय अनुशासन भए आर्थिक रुपमा समस्या नआउने बताउनुभयो । आफ्नो आवश्यकता भन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उहाँको भनाई थियो । घरका अभिभावक सचेत बनी बैंकको अवस्था, लगानीकर्ताको पहिचान गरी कारोबार गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन् ऋण लिएपछि तिर्नुपर्छ ।” लागानीकर्तालाई समेत उहाँले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिदा समस्या उत्पन्न भएको तर्क गर्नुभयो ।
नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले आर्थिक मन्दिले वर्तमान अवस्था सिर्जना भएको बताउँदै संघ र सेवाग्राही जिम्मेवार नबन्दा पनि समस्या उत्पन्न भएको बताउनुभयो । लघुवित्तले नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । लघुवित्त वित्तीय संस्थाहरुले बढी ब्याज लिएको भन्ने सन्र्दभमा उहाँले अहिले १५ प्रतिशत ब्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए संघमा खबर गर्न आग्रह गर्नुभयो ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले संघको सञ्जाल विस्तार गरी गाउँठाउँमा नै गुनासो सुन्ने र समाधान गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले समेत चासो दिएको र वार्ता भइरहेको जनाउँदै उहाँले नेपाल राष्ट्र बैंकले समस्या अध्ययन र समाधान समिति गठन गरिसकेकोले त्यहाँ छलफल भइरहेको बताउनुभयो । अहिले सदस्यले ऋण तिर्न नसक्ने अवस्था आएको बताउँदै नेपाल राष्ट्र बैंकले अनुमति दिएको खण्डमा म्याद बढाउने, पुर्नताजगीकरण एवं नविकरणका प्रक्रिया अघि बढाउने योजनामा रहेको उहाँले बताउनुभयो ।
लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका उपाध्यक्ष समेत रहनुभएकी सामाजिक अभियान्ता एलिमा मिया खातुनले ऋण लिएपछि स्वभाविक रुपमा तिर्नुपर्ने बताउँदै लघुवित्तका कमजोरी र कर्मचारीका व्यवहार सच्याउन आग्रह गर्नुभयो । यसअघि गत पौषमा लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच १२ बुँदे सहमति भएको उल्लेख गर्दै कतिपय कार्यान्वयनमा पनि आएको उहाँले बताउनुभयो । लघुवित्त संस्थाले नै महिला सशक्तिकरण र आत्मनिर्भर बनाउन ठूलो योगदान गरेको बताउँदै दुःख पर्दा संस्थाले पनि सुन्नुपर्ने उहाँले तर्क गर्नुभयो ।
कार्यक्रममा उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा खत्री, लघुवित्तका ऋणी सदस्यका तर्फबाट हिमादेवी भुसाल भट्टराई, मिना गौतम, कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज सापकोटा र सुबास पोख्रेलले बोल्नुभएको थियो ।
७७ वटै जिल्लामा रहेका स्थानीय निकायहरुमा शाखा कार्यालय खोली ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु मार्फत घरदैलोमा नै वित्तीय सेवा पु¥याउँदै आएका छन् । ६० लाख घरधुरी सदस्यले १३ लाख ६७ समूहमार्फत काम गर्दै आएको संघले जनाएको छ । महिलाको वित्तीय साक्षरता, महिला सशक्तिकरण र स्वरोजगार बनाउन ३० वर्षदेखि लघुवित्तको ठूलो योगदान रहेको दावी गर्दै आएको छ । संघले हरेक जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान शुरुवात गरेको हो ।





