चितवनः सामान्यतया ७५ वर्ष माथिका बृद्धबृद्धाहरुको मुटुको शल्यक्रिया गर्न धेरै चिकित्सक हच्किन्छन् । परिवारले पनि त्यति धेरै बृद्धावस्थामा मुटुको शल्यक्रिया गर्न महत्व दिंदैनन् । तर, चितवनका एक चिकित्सक भने जोखिम मोलेर नै बृद्धाबृद्धाहरुको मुटुको जटिल शल्यक्रिया गर्दै आउनु भएको छ ।
चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी आफूले गरेका शल्यक्रियामध्ये ३० प्रतिशत ७५ वर्ष माथिका रहेको बताउनुहुन्छ । एक दिनको शिशुदेखि ९५ वर्षका बृद्धको समेत आफूले मुटुको शल्यक्रिया गरेको उहाँको भनाई छ । सन् २००२ देखि १० वर्ष काठमाण्डौंको गंगालाल हृदयरोग केन्द्रमा काम गर्नुभएका डा. रेग्मी विगत ११ वर्षदेखि चितवन मेडिकल कलेजमा काम गर्दै आउनु भएको छ । मेडिकल कलेजमा अन्य विभागहरु समेत रहेकाले बृद्धबृद्धामा देखिने अन्य समस्याहरुको उपचार गरेर मुटुको शल्यक्रिया गर्ने गरेको उहाँको भनाई छ । कतिपयको मुटुको शल्यक्रियापछि प्रोस्टेट लगायत अन्य रोगको शल्यक्रिया गर्ने गरेको डा. रेग्मी बताउनुहुन्छ ।

चितवन आएर मात्रै उहाँको नेतृत्वमा मुटुका ५ हजार ४७१ वटा जटिल शल्यक्रिया गरेको बताउँदै उहाँले यी मध्ये ३० प्रतिशत ७५ वर्ष माथिका बृद्धबृद्धा रहेको बताउनुभयो । उहाँका अनुसार कोरोनरी एन्जियोग्राम ३ हजार ७४ वटा, कोरोनरी एन्जियोप्लास्टी १ हजार ९३३ वटा, पेसमेकर २४७ वटा, पिटिएमसि (मुटुको भल्व सानो भएको) २०८ वटा, बिएभि दुई वटा र बिपिभि सात वटा भएका छन् । यस बाहेक मुटुमा जमेको पानी तान्ने, अस्थायी व्याट्री राख्ने लगायत साना शल्यक्रिया ठूलो संख्यामा भएको डा. रेग्मीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “एक दिनको बच्चादेखि ९५ वर्षको बृद्धसम्मको शल्यक्रिया गरेको छु ।” यस अस्पतालमा मुटुरोग विभागमा तीन जना विशेषज्ञ चिकित्सक, दुई जना डिएम विद्यार्थी, पाँच जना फेलोसिप विद्यार्थी रहेका छन् । रेग्मीले नचिरिकन शल्यक्रिया समेत गरिने भएकाले राजधानी काठमाण्डौंबाट समेत बिरामीहरु आउने गरेको बताउनुभयो । सबै चिकित्सकहरुले पाको उमेरकाहरुको मुटुको शल्यक्रिया गर्न नचाहने भएकाले त्यस्ता बिरामी डा. रेग्मीकोमा धेरै आउने गरेको उहाँको विभागमा कार्यरत अमृत काफ्लेले बताउनुभयो ।

निजी मेडिकल कलेज भए पनि मुटुको उपचार सरकारी अस्पताल सरहको दररेटमा गरेको रेग्मीले बताउनुभयो । राजधानी काठमाण्डौंमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति जिल्ला नै रहेको डा. रेग्मीको भनाई छ । उहाँले थप्नुभयो “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौं, बिरामीहरु यही कुरा बुझ्न नसकेर मुटु रोगको उपचारका लागि अन्यत्र जान्छन् ।” अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथल्याब रहेको छ ।
नेपाल सरकारको विपन्न नागरिक औषधोउपचार कोषमार्फत् उपलब्ध एक लाख बराबरको छुट समेत यस अस्पतालमा पाईने डा. रेग्मीले जानकारी दिनुभयो । हिड्दा छाती दुख्ने, छाती भारी हुने, हिड्दा श्वाश्वा हुने जस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुन सक्ने भन्दै डा. रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिनुभयो ।

मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले काठमाण्डौं सहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो । डा.रेग्मी मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सकमा परिचित भएको भन्दै उहाँले यस अघि उपचार पाएकाहरुको सुझावकै कारण धेरै बिरामी आउने गरेको बताउनुभयो । बृद्धबृद्धाहरुको समेत सफल शल्यक्रिया गर्न सकेकै कारण काठमाण्डौंबाट समेत बिरामी आउने गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !