चितवन: मौषममा आएको परिवर्तन संगै वन क्षेत्रमा हुन डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । गर्मी समय सुरु भए संगै चैत र बैशाख महिनामा वन क्षेत्रमा अत्याधिक मात्रामा डढेलो लाग्ने गरेको छ । जसका कारण वन, वन्यजन्तु, बासस्थान र जैबिक बिभिधतालाई असर गर्ने गरेको छ ।
वनमा डढेलो लाग्ने समय सुरु हुँदै गर्दा चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्नी रेखा निर्माण, अग्निी नियन्त्रण सामाग्री सहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अबस्थामा राखिनुका साथै समुदाय स्तरमा सचेतना वढाउने काम सुरु गरिएको छ । उहाँका अनुसार निकुञ्ज क्षेत्रलाई ५० भन्दा बढि भागमा बिभाजन गरी अग्नि रेखा कोरीएको छ । अनियन्त्रीत डढेलो लागेमा नेपाली सेनाको टोली, निकुञ्जका कर्मचारीहरु अग्नी नियन्त्रण सामाग्री सहित परिचालन गरीने उहाँले जानकारी दिनुभयो ।
डढेलो लाग्न नदीनका लागि निकुञ्जले वन क्षेत्रमा बसोबास गर्ने समुदायहरुलाई सचेतना अभिबृद्धिका कार्यक्रमह गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अडढेलो लाग्नु भन्दा लाग्नै नदीनका लागि समुदाय स्तरबाटै कार्यक्रम गर्दै आएका छौ ।” ९५२ दशमलब ६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज क्षेत्र भित्र कतिपय स्थानमा निकुञ्जले व्यवस्थित रुपमा डढेलो लगाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार घाँसेमैदान र वासस्थान व्यवस्थापनका लागि निकुञ्जले व्यवस्थित रुपमा डढेलो लगाउने गरेको भए पनि झाडी भयो भनेर आफ्नो सहजताका लागि लगाइने डढेलोले समस्या पार्ने गरेको छ । स्थानीय स्तरमा जनतालाई सचेत वनाउँदै अग्नी नियन्त्रणका लागि तयारी अबस्थामा रहन समेत निकुञ्जले आव्हान गरेको छ । मध्यवर्ती सामुदायीक वन क्षेत्रमा समेत डढेलो नियन्त्रणका लागि स्थानीय संग समन्वय गरेर काम भईरहेको उहाँले बताउनुभयो ।
यस्तै डिभिजन वन कार्यालय चितवनले पनि डढेलो नियन्त्रणका लागि तयारी सुरु गरेको छ । डिभिजन वन अन्तरगतका आठ ओटै सब डिभिजन मातहतमा स्थानिय उपभोक्ताहरुको अगुवाईमा डढेलो नियन्त्रण संजाल गठन गरिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।
उपभोक्ताको प्रत्यक्ष संलग्नतामा संरक्षणका कार्यक्रमहरु ल्याईदा बढी प्रभावकारी हुने उहाँले बताउनुभयो । कार्यालयले डढेलो नियन्त्रणका लागि १० जना वन दस्ता समेत नियुक्त गरेको छ । हरित स्वयंसेवकका रुपमा नियुक्त वन दस्ताले वन तथा वन पैदावरको संरक्षण गरि डढेलो नियन्त्रणमै मुख्य भुमिका खेल्ने उहाँले बताउनुभयो । हालका लागि इच्छाकामनाको हरिपुर र भरतपुरको भोजाडमा वन दस्ताले काम गरीरहेका छन् ।
बस्तुभाउ चरिचरणका निम्ति र पिकनिक खान वन क्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेल्चेक्राई गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेका छन् । सालका रुख हुने वन क्षेत्रमा डढेलोको जोखम बढी हुने गरेको उहाँले बताउनुभयो । विगतलाई हेर्दा १० हजार ३ सय २ हेक्टरमा फैलिएको बरण्डाभार वनमा सबैभन्दा बढी डढेलो लाग्ने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस !