चितवन:जिल्लामा पालिएका कुकुरहरुमा पार्वो भाइरसको संक्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरहरुमा पार्वो भाईरसको सङ्क्रमण देखिएको हो ।
केन्द्रका सूचना अधिकारी डा. प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याईएका कुकुरहरुमा ३० देखि ४० प्रतिशतमा यो भाइरस देखिएको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो ।
घरपालुवा कुकुरहरु उपचारको लागी ल्याउने गरिएपनि सडकमा रहेका भुस्याहा कुकुरहरुको उपचारमा भने कसैले ध्यान नदिएको उहाँले बताउनुभयो । यो रोग घरपालुवा सहित छाडा छोडीएका कुकुरहरुमा समेत देखिने गरेको उहाँको भनाई छ ।
पार्वोको सक्रमण भएका कुकुरहरुमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षणहरु देखा पर्ने उहाँले बताउनुभयो । सामान्यतय पार्वो खतरनाक समस्या नभएपनि उपचार नभएमा कुकुरहरुको मृत्यु समेत हुने गर्दछ । कुकुरहरुलाई नियमित खोप नलगाउदा यस्तो समस्या देखापर्ने गर्दछ । कुकुरहरुलाई डिएचएलपिपि नामक खोप नियमीत ५ वटा दिएमा यस्ता संक्रमण नहुने न्यौपानेले बताउनुभयो । अधिकांश घरपालुवा कुकुरहरुमा नियमित खोप लगाउने अभ्यास नभएकोले यस्तो खालको समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो ।
कुकुरलाई जन्मीएको ६ देखि ८ हप्तामा पार्वो विरुद्धको नियमीत खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस !