चितवनः भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले जग्गालाई दश क्षेत्रमा वर्गीकरण गरेको हो ।
महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको हो ।
भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भूउपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो । उक्त समितिले सहयोग कार्यदल बनाई कार्यदलले पेश गरेको मापदण्डका आधारमा छलफल गरी जग्गाको वर्गीकरण गरिएको प्रमुख दाहालले बताउनुभयो ।
वर्गीकरण अन्तर्गत आवासीय क्षेत्रमा ६ मिटर सडक पूर्वाधार पुगेको र ६ मिटरभन्दा साना सडकहरुमा सडक सीमानापछिको ५० मिटर दायाबायाको क्षेत्र पर्ने उल्लेख छ । यस्तै ६ मिटरभन्दा ठूला सडकहरुमा सडक सीमानापछिको ७० मिटरसम्म दायाबायाको क्षेत्र र व्यवसायिक क्षेत्र तोकिएको क्षेत्रपछि सडक पूर्वाधार पुगेको क्षेत्रहरुमा थप ५० मिटर आवासीय क्षेत्र हुने उल्लेख छ ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले कार्यपालिका बैठकले जग्गाको वर्गीकरणको मापदण्ड स्वीकृत गरी स्थानीय भूउपयोग परिषद्लाई सिफारिस गरेको बताउनुभयो । जग्गाको वर्गीकरणसँगै तोकिएको मापदण्ड अनुसार कित्ता काट खुल्ला हुने उहाँका भनाई छ । उहाँले भन्नुभयो “आज महानगरपालिकाले नापी र मालपोत कार्यालयहरुमा पत्राचार गरेसँगै भोलिबाट कित्ताकाटको काम शुरु हुन्छ ।” लामो समयदेखि कित्ताकाट रोकिंदा कित्ताकाट गरेर जग्गाको कारोबार हुन सकेको थिएन । यससँगै जग्गाको कारोबार चलायमान हुने अपेक्षा गरिएको छ ।






