चितवनः रोगका कारण जिल्लाका १२ वटा खोरमा रहेका बंगुर मरेका छनन् । अफ्रिकन स्वाइन फिवरका कारण २ हजार ८७३ बंगुर मरेका हुन् ।
भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका बंगुरका खोरहरु खाली भएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिकाका ३ वटा, रत्ननगर नगरपालिकामा ४ वटा, इच्छाकामना गाउँपालिकामा ३ वटा र खैरहनी नगरपालिकामा २ वटा फर्ममा रहेका बंगुरमा फिवर फैलिएपछि पूर्ण रुपमा खाली भएको हो । यस रोगका कारण जिल्लामा २ हजार ८७३ बंगुर मरेका छन् । जस मध्ये बयस्क १ हजार ९१६ वटा र ९५७ वटा पाठापाठी रहेको उहाँले जानकारी दिनुभयो ।
रु ६ करोड २२ लाख ६५ हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ । यो रोग गत साउन महिनाबाट जिल्लामा देखिएको हो । अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक वि. सं. २०७९ साल जेठ २ गते पुष्टि भएको थियो ।
रोग संक्रमित सुँगुर बंगुर बीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुरको ¥याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बंगुरको ओसारपसार वा किनबेच गर्दा, संक्रमित खोरमा काम गर्ने कामदार र संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि प्रयोग गर्दा सर्न सक्ने न्यौपानेले जानकारी दिनुभयो ।
यो रोग लागेका बंगुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डामहरु देखा पर्ने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिंंज निकाल्ने, रोग संक्रमित सुँगुर बंगुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, बच्चा तुहिने जस्ता लक्षणहरु देखा पर्ने केन्द्रले जनाएको छ ।
यस रोगबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बंगुरको खोरमा अनावश्यक मानिसको आवत जावत रोक्ने, बंगुर फार्ममा जैविक सुरक्षा विधि अवलम्वन गर्ने जस्ता उपायहरु अपनाउनु पर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधैं फार्ममा रहेका बंगुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने गर्नु पर्दछ । बंगुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाई गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ्ग पाउडर आदिले निःसंक्रमण गर्ने, रोग लागेका बंगुरलाई बथानबाट छुट्याएर अलग राख्ने जस्ता कार्य गर्दा क्षती कम हुने न्यौपानेको भनाई छ ।






