चितवनः भरतपुर महानगर क्षेत्रलाई उज्यालो शहर बनाउने महानगरको अभियान अन्तर्गतको दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८ दशमलब १ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ति राखिएकोमा दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप वत्ति राख्नका लागि आज बोलपत्र आव्हान गरिएको छ ।
भरतपुर महानगरपालिका र नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ति प्रबर्धन आयोजनाको सहकार्यमा महानगर क्षेत्रमा स्मार्ट सडक बत्ति जडान कार्य सुरु गरिएको हो । पहिलो चरणको काम अन्तिममा पुगेको छ भने दोस्रो चरणको कामको थालनि गरिएको छ ।
पहिलो चरणमा महानगरपालिकाले १० प्रतिशत लागत साझेदारी गरेको हो भने दोस्रो चरणमा ६० प्रतिशत महानगरपालिका र आयोजनाको ४० प्रतिशत साझेदारीमा काम गर्न लागिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम यही बैशाख पहिलो साता सम्ममा सकिने छ । दोस्रो चरणको काम निर्माण व्यवसायीसंग सम्झौता भएको एक वर्षमा सम्पन्न हुने छ । दोस्रो चरणमा बिभिन्न ठाउँमा आठ वटा हाइमास्ट र ६० वटा मिनिमास्ट सहितका बत्तिहरु राखिदैं छ ।
पहिलो चरणमा सडक क्षेत्रमा १ हजार ९ सय ३३ वटा बत्ति जडान गरिएको छ । महानगर प्रमुख दाहालका अनुसार पहिलो चरणमा मूल्य अभिबृद्धि कर सहित रु ११ करोड ४९ लाख ८९ हजार ३ सयमा ठेक्का सम्झौता भए संगै सेफ स्टिल÷सूर्योदय उर्जा÷टपशन जेभिले काम गरिरहेको छ । दोस्रो चरणमा रु २६ करोड ५० लाखको बोलपत्र आव्हान गरिएको छ । उहाँले भन्नुभयो “पहिलोको भन्दा धेरै क्षेत्रलाई हामी उज्यालो वनाउँदै छौ ।” पहिलो चरणमा महानगरका शहरी क्षेत्रमा बत्ति जडान गरिएको छ । दोस्रो चरण अन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकीलो सडकलाई प्राथमिकता दिएर बत्ति जडान गरिदैं छ । दाहालले भरतपुर महानगरपालिकालाई आउँदो पाँच वर्षभित्र दक्षिण एसियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्धेश्य अनुरुप उज्यालो शहर वनाउन लागिएको बताउनुभयो । यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्तीहरू जडान गरिदैं छ । सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण बर्षको रुपमा मनाउन लागिएको भन्दै उहाँले मुख्य सडकहरूमा यात्रा गर्दा आम सर्वसाधारण, पैदल यात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाई सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउनको लागि ’उज्यालो सहर–भरतपुर’ अभियानको काम तिब्र पारिएको बताउनुभयो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती हो भन्ने कुरालाई मध्यनजर गर्दै यस ’उज्यालो सहर–भरतपुर’ अभियानमा सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो । यस कार्यक्रम अन्तर्गत पाँच वर्ष सम्म निर्माण कम्पनीले मर्मत सम्भार समेत गर्ने अधिकारीले जानकारी दिनुभयो । अन्य ठाउँहरुमा स्मार्ट बत्ति जडान कार्य क्रमश गर्दै लगिने उहाँको भनाई छ ।
आयोजनाका प्रमुख प्रमोद रिजालले भरतपुर महानगरपालिकाले महानगर क्षेत्रलाई उज्यालो बनाउन गरेको प्रस्ताब अनुसार प्राधिकरणले सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । पहिलो चरणको काम ८५ प्रतिशत सकिएको भन्दै उहाँले बोलपत्रको काम सुरु भएकाले आउँदो वर्ष भित्रमा महानगरका धेरै ठाउँमा स्मार्ट बत्ति पुग्ने बताउनुभयो । भरतपुर महानगरमा बिकास निर्माणका काम तिब्र गतिमा भईरहेका छन् । बिकासका हिसाबले धेरै काम भएको पालिकामा भरतपुरलाई चिन्ने गरिन्छ ।
यस्तै नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा विद्युत भूमिगतको तथा सुदृढिकरणको काम सुरु गरेको छ ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस ट्रमिनल–गोन्द्राङ् , केन्द्रीय बस ट्रमिनलदेखि आँपटारीसम्मको विद्युत लाईन भूमिगत गर्ने काम सुरु भएको हो । रु १ अर्ब २० करोडमा ठेक्का सम्झौता गरेर काम अघि वढाईएको हो । भरतपुर बाइपास सडकको पुरै र ६ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिन लागेको हो ।
भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगर पालिकाको अग्रसरतामा महानगरका मुख्य सडकमा बिद्युत लाईन भूमिगत गर्न लागिएको हो ।






