चितवनः चितवनका ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ह्यूमन पापिलोमा भाईरस (एचपिभि) लगाईने भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई खोप अभियान सञ्चालन गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार जिल्लाको माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाईसकिएको छ । रत्ननगर नगरपालिकाका २ हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ ।

खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

यही फागुन १४ गतेदेखि १९ गतेसम्म रत्ननगरका विद्यालयहरुमा खोप कार्यक्रम शुरु गर्न लागिएको हो । विश्व स्वास्थ्य संगठनले पनि खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२३ देखि राष्ट्रिय खोप नीतिमा समावेश गर्न लागेको छ ।

यो एचपिभि खोप लगाएपछि भाईरसको संक्रमणबाट बचाउँछ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. मञ्जु पाण्डेका अनुसार यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई योनीको क्यान्सर, मलद्धारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ । ५ देखि १२ महिनाको फरकमा दुई पटक खोप दिनु पर्ने उहाँले बताउनुभयो । विश्वका धेरै देशहरुमा लगाईएको यो खोपको खासै साईड इफेक्ट छैन ।

धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा बिवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटक पटक गर्भपतन गराएमा, धूम्रपान गरेमा, लामो समयसम्म हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने डा. पाण्डेको भनाई छ ।

एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपीभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलाहरूमा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ ।

प्रतिक्रिया दिनुहोस !