चितवनः पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिकाभित्र पर्ने पुलचोक–गोन्द्राङ सडक विस्तारको काम सम्पन्न गर्न दश महिना मिति थप गरिएको छ । तोकिएको समयमा ६५ प्रतिशत काम सम्पन्न भएपछि बाँकी कामका लागि मिति थप गरिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार गत माघ २५ गते मिति सक्किएपछि १० महिना थप गरिएको छ । आगामी मंसिर २३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी समय थप गरिएको हो ।
सम्झौता भएको २८ महिनाभित्र सम्पन्न गर्नुपर्ने सडक विस्तारको काम कोरोना महामारी, क्रसर बन्द, खानेपानी पाईप, विद्युत पोल सार्नुपर्ने लगायतका कारण समयमा काम सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।
सो सडकको चौबीसकोठीदेखि पुल्चोकसम्मको काम तीब्र गतिमा भईरहेको छ । बजार क्षेत्रमा काम भईरहेकाले ट्राफिक व्यवस्थापन जटिल बनेको छ । काम गरेका क्षेत्रहरुमा सवारीसाधन आवतजावतमा समस्या परेको छ ।
गोन्द्राङदेखि चौबीसकोठीसम्म दुई तहको कालोपत्रे (डिबिएम) भइसकेको छ । रिजालचोकदेखि चौबीसकोठी खण्डको बीचमा पनि कालोपत्रे गर्ने तयारी गरिएको छ । सडकमा तीन तहको कालोपत्रे हुनेछ । यो सडकमा तीन तहसम्मको कालोपत्रे हुनेछ छ ।
५० मिटर चौडा सडक ६.०५ किलोमिटर लामो रहेको छ । रु. एक अर्ब २३ करोड लागतमा सडक विस्तार गर्न इन्डो सगुन जेभी बुटवलले जिम्मा पाएको छ । ठेकेदारसँग बि.सं. २०७७ कात्तिक ११ गते सम्झौता भएको थियो । यो सडकलाई शहरी क्षेत्र सुन्दर देखिने गरी निर्माण गरिने छ । सडकको बीचमा आकर्षक हरियाली हुनेछ । छेउमा फुटपाथ रहने छ । सडकको ठाउँ अनुसार फरक फरक नक्सांकन गरेर आकर्षक बनाईएको छ ।






