चितवन: नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले नेकपा एकीकृत माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा सहमतीको पालना गर्नु पर्ने बताउनुभएको छ । आज भरतपुरमा पत्रकारहरुसंग कुराकानी क्रममा उहाँले एमाले सहमती पालना गर्न तयार रहेको भन्दै माओवादीलाई पनि सहमती कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो “धोका नदिए सम्म दिएको भनेर बुझ्नु हुदैन ।” उहाँले थप्नुभयो “ हामी आशावादी छैं की हिजो एउटा गठवन्धन मिलेर निर्वाचनमा लडेको त्यसपछि उतैबाट धोका खाएर हामीले रेस्क्यु गरेको । यतिछिटै मित्र बदल्दै जानुहोला भन्ने हामीलाई बिश्वास छैन ।” राष्ट्रपति निर्वाचनमा मनोनयन नभए सम्म एमाले आशावादी रहेको उहाँको भनाई थियो ।
नेकपा माओवादी केन्द्रको निर्णय नआउँदा सम्म सहमती कार्यान्वयनको पक्षमा आशावादी रहेको बताउँदै उहाँले नेकपा एमालेमा अहिले धोकाधाडी नभएको बताउनुभयो । राष्ट्रपति निर्वाचनमा विदेशी शक्ति लागेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले कुनै विदेशी शक्तिको चलखेल भन्ने आफुलाई नलागेको बताउनुभयो । नेपालका कुनै पनि दललाई स्पष्ट बहुमत नभएको भन्दै उहाँले कुनै न कुनै संग मिलेर जानुपर्ने बाध्यता दलहरुमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कोही पनि निर्णायक छैन । सबै निर्णायक हुन् ।”
फरक प्रसंगमा बोल्दै उहाँले कुनैपनि विदेशी हावाले नेपाली हावालाई विषाक्त नबनाओस भन्ने एमालेको चाहना रहेको बताउनुभयो । विदेशी हावालाई रोक्न सक्नु पर्छ भन्दै उहाँले विदेशीसंग सम्बन्ध राख्नु र प्रभावित हुनु फरक कुरा भएको बताउनुभएको हो ।






