चितवनः जिल्लाको पहाडी भूभागमा बच्चाले बच्चा जन्माउँने भन्दै रोकथामका लागि पालिकाहरु लागि रहेका छन् । सरकारी र नीजि क्षेत्रको प्रयास जारी रहे पनि यो क्रम रोक्न सकीएको छैन ।
जिल्लामा २० वर्ष मुनीका महिलाहरु आमा बन्ने क्रम नरोकीएको तथ्याङ्कले देखाएको छ । सरकारले बिहेबारी २० वर्ष पारि भन्ने नारा ल्याए पनि सानो उमेरमा आमा बन्ने क्रम नरोकीएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिलाहरु आमा बनेका छन् । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार उनीहरु मध्ये २ हजार ६६३ जनाले दक्ष प्रसुतीकर्मीबाट सेवा लिएका छन् भने ३८६ जनाले दक्ष स्वास्थ्य कर्मीबाट सेवा लिएका छन् । यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र २ जनाले घरमानै बच्चा जन्माएका हुन । यसै वर्षबाट यो तथ्याङ्क राखिएकाले गत वर्षको तुलना गर्न नसकिएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा २० वर्ष माथिका ६ हजार ३८९ जनाले बच्चा जन्माएको उहाँले बताउनुभयो । उनीहरु मध्ये २ हजार १८६ जनाले दक्ष प्रसुतिकर्मीबाट, ४ हजार ७४३ जनाले दक्ष स्वास्थ्यकर्मीबाट, २१ जनाले अन्य स्वास्थ्यकर्मीबाट र ३९ जनाले घरमानै बच्चा जन्माएको ढकालले वताउनुभयो । उहाँका अनुसार जिल्लामा यस वर्ष १३९ जना बच्चा मृत अबस्थामा जन्मिएका थिए । यस्तै २३३ जनाले दुईवटा बच्चा जन्माएका छन् ।
अघिल्लो आर्थिक वर्षमा २ हजार ७०५ जनाले २० वर्ष भन्दा कम उमेरमा पहिलो गर्भबती जाँच गराएका थिए । जस मध्ये १६, २०, २४,३२ र ३६ हप्तामा १ हजार ४६ जनाले गर्भ परिक्षण गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सोही समयमा २० वर्ष भन्दा माथिका १८ हजार ३३९ जनाले पहिलो पटक गर्भवती परिक्षण गराएका थिए ।
भरतपुर अस्पतालका बरिष्ठ स्त्रि तथा प्रसुती रोग बिशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुबैको ज्यानको खतरा हुने गर्दछ । कम उमेरमा बच्चा जन्माउँदा आमा शारिरिक तथा मानसीक रुपमा समेत तयार भई सकेको नहुने भएकाले बच्चाको स्वास्थ्यमा समस्या आउने सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सानो उमेरमा बिबाह गरेर बच्चा जन्माउने गर्दा पाठेघरमा समस्या आउने गरेको छ । बढि संख्यामा ग्रामीण क्षेत्र र सिमानतकृत समुदायमा यो समस्या रहेको उहाँको भनाई छ । चेतनाको अभावका कारण यो समस्या देखिएको भन्दै उहाँले भन्नुभयो “परिक्षणमा आउनेहरुलाई गाउँमा सानै उमेरमा बिबाह गर्न नहुने सम्बन्धि चेतना समेत दिने गरेका छौ ।”
सानो उमेरमा बच्चा जन्माउँदा आमामा उच्च रक्तचापका कारण बेहोस हुने, बच्चा कम तौलको जन्मने, आमामा संक्रमण हुने जस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !