
वर्षकै प्रतिक्षित चलचित्रका रुपमा रहेको ‘बिहे पास’ को टिजर आज बुधबार सार्वजनिक गरिएको छ ।
दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर करिब साढे १ मिनेट लामो टिजर बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।
फस्र्टलुक पोस्टर सार्वजनिकसँगै चर्चामा रहेको ‘बिहे पास’ को टिजरमा दयाहाङ र प्रकृतिलाई पतिपत्नीको रुपमा देखाइएको छ । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको कुरा बुझिन्छ । टिजरमा आम नेपालीको चासो र चाहनाको विषय समेटिएकाले पनि दर्शकले यो चलचित्रप्रति निकै आशा राखेको पाइन्छ ।
प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको चलचित्रका गीतमा पवेश मल्लिकको संगीत,डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्र मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।
आरआर फिल्म प्रोडक्शनको निर्माण र बितरण रहेको चलचित्र पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो । रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्रलाई निर्माण पक्षले नयाँ बर्ष २०८० को दर्शकलाई उपहार स्वरुप वैशाख १ गते प्रदर्शन गर्न लागेको बताउदै आएको छ ।