चितवनः किराँत याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ बैठक २५ बुँद्धे घोषणा पत्र जारी गर्दै सकिएको छ । यही फागुन ७ र ८ गते भरतपुरमा सुरु भएको बैठकले प्रदेश नम्बर १ को नाम लिम्बुवान किराँत राख्न माग गरेको छ । यस्तै बागमती प्रदेशको नाम नेवाः ताम्सालिङ राख्न समेत बैठकले माग गरेको छ ।
चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न बैठकले पवित्र स्थल पाथिभरको पुरानो नाम मुक्कुम्लुङ राख्न माग गरेको छ । यस पवित्र स्थलको पवित्रतालाई खलल गर्नुका साथै १० औँ हजार रुखहरू कटान गरी प्राकृतिक पर्यावरण, वन्यजन्तुको बासस्थान नष्ट गरी व्यापारिक प्रयोजनका लागि गर्न लागिएको केबुलकार निर्माण कार्यको चुम्लुङले विरोध गरेको छ । घोषणा पत्रमा भनिएको छ “आदिवासी लिम्बुहरूको पूर्व सुसूचित एवम् पूर्व स्वीकृति विना यो कार्य अघि बढाएमा प्रतिरोध गरिने समेत यो राष्ट्रिय चुम्लुङ उद्घोष गर्दछ ।”
प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न, निर्माण भएको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गर्नुपर्ने, वर्तमान अवस्थामा याक्थुङहरूको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक स्थलका रूपमा रहेका समाधिस्थल, माङ्गेÞन्ना यक, माङ्युक्ना, ऐतिहासिक स्थल, पवित्र स्थलहरूमाथि राज्य र गैह्रराज्यबाट भइरहेका अतिक्रमणलाई तुरुन्त रोकी संरक्षण गर्नुपर्ने, संविधानले मातृभाषा शिक्षाको व्यवस्था गरेअनुसार सरकारले लिम्बु÷याक्थुङ मातृभाषा शिक्षक दरबन्दीको अबिलम्ब व्यवस्था गर्नुपर्ने, नेपाली भाषा सरह मातृभाषामा अध्ययन अध्यापनका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री आदि स्रोत साधनको व्यवस्था गर्न, शिक्षा नियमावली परिमार्जन गरी लिम्बु÷याक्थुङ आदिवासीका लागि पाठ्यक्रम पाठ्यपुस्तकमा एकरूपता ल्याउन समेत बैठकले माग गरेको चुम्लुङकी महासचिब निरन्ती तुम्बापोले जानकारी दिनुभयो ।
बैठकमा १३ जिल्लाका २८८ जना प्रतिनिधि सहभागीता रहेको चुम्लुङ्का जिल्ला अध्यक्ष जनक लिम्मुले बताउनुभयो । नेपालमा लिम्बू समुदाय ३ लाख ८७ हजार ३०० रहेको छ । चितवनमा ८ सय देखि १ हजार बिचमा रहेका छन् ।






