चितवन:राष्ट्रिय भूमि आयोग चितवनमा ४८४ जनाले आफ्नो जग्गा धनी प्रमार्ण पुर्जा अध्याबधिकका लागि निबेदन दिएका छन् । अघिल्ला आयोगहरुले भोगचलनका लागि मात्रै दिएका पुर्जाहरु अध्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन ।
आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार सात पालिका मध्ये सबैभन्दा धेरै निवेदन इच्छाकामना गाउँपालिकाबाट आएका छन् । गाउँपालिकाबाट २२३ वटा निवेदन परेको उहाँले बताउनुभयो । यस्तै भरतपुर महानगरपालिकाबाट १६३ वटा, खैरहनी नगरपालिकाबाट ४२ वटा, माडी नगरपालिकाबाट २४ वटा, राप्ती नगरपालिकाबाट १९ वटा र रत्ननगर नगरपालिकाबाट १३ वटा अध्यावधिकका लागि निवेदन परेको उहाँले जानकारी दिनुभयो । कालिका नगरपालिकाबाट अहिले सम्म निवेदन नपरेको उहाँले बताउनुभयो ।
आएका निवेदन माथि छानविन गरि आयोगले निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “जग्गाको मूल्य बराबरको राजश्व बुझाई सकेकाहरुको अध्यावधिकका लागि छिट्टै निर्णय गर्छौ ।”जग्गा धनी प्रमाण पुर्जा पाएर पनि समय तोकीएर बेचबिखन गर्न नपाउने गरी अघिल्ला आयोगहरुले जिल्लामा पुर्जा बितरण गरेका थिए । पुराना आयोगले ५ वर्ष र १० वर्ष सम्म बेचबिखन गर्न नपाउने गरी पुर्जा बितरण गरेको उहाँले बताउनुभयो ।
जिल्लामा रहेका अन्य संग पनि यस्ता पुर्जा भएको भन्दै उहाँले अहिले सबै पालिकाबाट निवेदन संकलनको काम भईरहेको बताउनुभयो । आयोगले निवेदन संकलन गरेर उनीहरुलाई अब पूर्ण स्वामीत्वका लागि निर्णय गर्ने उहाँको भनाई छ । जिल्लामा रहेका मालपोत कार्यालय र नापी कार्यालय संग समन्वय गरेर काम अघि वढाईने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !