चितवन: आगामी बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्बजनिक भएको छ । निर्वाचन आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको बिरोधमा उजुरी, २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्न निर्वाचन कार्यालय चितवनलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अम वहादुर पुर्जाले जानकारी दिनुभयो । अहिले कार्यालयले नामावलि अद्यावधिको काम गरिरहेको छ । फागुन १ गते देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता खारेज गरेसंगै उहाँको सांसद पद समेत खारेज भएको थियो ।
सोही अनुरुप रिक्त रहेको उक्त पदमा निर्वाचनबाट नै पदपुर्ति गर्न सकिने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनको तयारी सुरु गरेको हो । यस क्षेत्रमा मंसिर ४ गतेको निर्वाचनमा १ लाख २५ हजार १६५ मतदाता रहेका थिए । जस मध्ये ८२ हजार ९३४ मत खसेको पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार माघ ३ गते देखि २९ गते सम्म जिल्लामा ५९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । उनीहरु मध्ये १९ जना बाहिरी जिल्लाका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीमा गरी उनीहरुले नामावली दर्ता गराएका हुन ।
यस्तै ६७ जनाले ठाउँसारीका लागि निवेदन दिएका छन् भने २८ जनाले त्रुटी सच्याउनका लागि निवेदन दिएको उहाँले बताउनुभयो । आयोगले उप निर्वाचनको मिति तय गरे संगै जिल्लामा मतदाता नामावली संकलनको काम रोकीएको छ ।

प्रतिक्रिया दिनुहोस !