चितवनः नवलपरासीमा तस्करले गैंडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा १०९ वटा गैंडा बस्ती पसेको पाईयो । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैंडा बाहिरिएको पाईयो । साँझको समयमा गाउँ पस्ने र झिस्मिसेमै वन पस्ने गरेको अध्ययनले देखाएको छ ।

त्यसो त चितवनका विभिन्न नाकाबाट गैंडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन् । राप्ती, नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैंडा बस्ती पसेको पाईन्छ । एकिन तथ्यांक नभए पनि ठूलो संख्यामा गैंडा बस्ती पस्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभन्द्र आचार्य बताउनुहुन्छ । निकुञ्जको कसराबाट पश्चिमी क्षेत्रमा धेरै गैंडा बस्ती पसेको गुनासो सुन्ने गरिएको छ ।

निकुञ्जमा चालु आर्थिक वर्षको साउन यता मरेका १२ गैंडा मध्ये ११ वटा कसरा पश्चिममा मरेको आचार्यले बताउनुभयो । घाँसे मैदान कम र गैंडाको संख्या धेरै हुँदा आहारको खोजीमा गैंडा बस्ती पस्ने गरेको उहाँले बताउनुभयो । गत माघमा करेन्ट लगाएर नवलपरासीको सेरीमा दुई वटा गैंडा मरेपछि निकुञ्जले गैंडाकोटदेखि बगुवानसम्म अध्ययन गरेको थियो ।

तटबन्धन गर्दै गएपछि नदी साँघुरो बनेको र घाँसे मैदान घट्दै गएको पाईएको छ । निकुञ्ज र आसपासका वन क्षेत्रमा घाँस कम भएसँगै गैंडा राती सुटुक्क गाउँ पस्न थालेको हो । अहिले निकुञ्ज बाहिर बस्ती नजिकको खेतबारीमा आलु, मकै, जै घाँस, नेपियर घाँस, मुसुरो, गहुँ जस्ता बाली छन् । ती बाली गैंडाले मनपराउने गरेको आचार्यले जानकारी दिनुभयो ।

निकुञ्जमा गैंडाको संख्या बढेसँगै सोही अनुपातमा घाँसे मैदान व्यवस्थापन हुन सकेको छैन । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ गैंडा छन् । ती मध्ये धेरै कसरा पश्चिम क्षेत्रमा छन् । आचार्य त्यहाँका गैंडा निकुञ्जकै पूर्वी वा अन्य संरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने बताउनुहुन्छ । यससँगै घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा बढी जोड दिनुपर्ने उहाँको भनाई छ ।

नियमित गैंडा बस्ती पसेर स्थानीयको बाली खाएपनि उनीहरुको संरक्षणप्रतिको चासोका कारण तस्कर भने सक्रिय हुन नसकेको आचार्य बताउनुहुन्छ । उहाँले भन्नुभयो “स्थानीयको सहयोगका कारण संरक्षण सम्भव भएको हो ।” यद्यपी गैंडा बाहिर आउनबाट रोक्न आवश्यक रणनीति बनाउनु पर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !