चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकाले नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि जनतासँग मेयर कार्यक्रम सुरू गरेको छ । वडा, नगरका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने गरी कार्यक्रम सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी स्थानीयका गुनासा, समस्या संकलन गर्दै समाधानको काम गर्ने गरी कार्यक्रम सुरू गरिएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो । कतिपय नगरबासीहरु वडा, नगरसम्म पुग्न र आफ्नो समस्या राख्न नसक्ने रहेको भन्दै उहाँले उनीहरुका गुनासा, समस्या सुन्दै योजनाबद्ध रुपमा काम गर्ने नगरको लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।
राप्ती नगरपालिका वडा नम्बर ३ को प्रतापपुरबाट यो कार्यक्रमको सुरूवात गरिएको छ । कार्यक्रममा वडावासीहरुले रासायनिक मल र फोहोर व्यवस्थापनमा जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका थिए । स्थानीय मित्र पोखरेल, ज्ञानबहादुर राई, एकराज खरेल, भरत अर्याल लगायतले मलको समस्या समाधानको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने, फोहोरको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने, धानको बीउ सहज उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रमुख लामाले रासायनिक मलको समस्या राष्ट्रिय समस्या भएकाले स्थानीय सरकारले जिम्मा लिन नसकिने तर कम्पोष्ट मल उत्पादन गर्ने बताउनुभयो । त्यसका लागि उहाँले वैशाख सम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । वडाध्यक्ष शिवकान्त ओलीले आफू स्वयम् नगरको फोहोर व्यवस्थापन समितिको संयोजक रहेकाले समग्र नगरको फोहोर व्यवस्थापनको काम सुरू गरिएको बताउनुभयो । स्थानीय समाजसेवी नवराज पाठकले चुनावी घोषणापत्रअनुसार काम गर्न सुझाव दिनुभयो ।
नगरमा कोही पनि खान, बस्न, लाउनबाट वञ्चित हुनुनपर्ने बताउँदै प्रमुख लामाले विपन्नहरुका लागि यो वर्ष एक सय घर बनाउन लक्ष्य रहेको बताउनुभयो । खाध्यन्न अभावका कारण भोकै भएको जानकारी प्राप्त हुना साथ समस्या समाधान गरीएको उहाँले जानकारी दिनुभयो ।





