चितवनः भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिंदै गएपछि सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले सेवा विस्तारलाई गति दिए पनि सेवाग्राहीको चाप बढ्दा गुणस्तरीय सेवामा भने अझै कमी भएको हो ।
एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेण्ट) परिवर्तन भएर अस्तव्यस्त बनेको भरतपुर अस्पताल पछिल्लो समय एउटै मेसुले काम गर्ने अवसर पाएसँगै अस्पतालको सेवा र सुविधामा सुधार भएको हो ।
अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । छ सय शैयाको यो अस्पताल संघीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बिमा सुरु भए यता रु १ अर्ब भन्दा बढि रकम अस्पतालले बिमा बापत पाईसकेको छ । बिमा सेवा दिनेमा यो देशकै उत्कृष्ठ अस्पतालको रुपमा चिनिन्छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउनुहुन्छ । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको दावी छ । अस्पतालमा भीड बढेपछि बहिरंग सेवा (ओपिडी) को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ । विशेषज्ञ ओपिडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरंग सेवा (जिओपिडी) सेवा सुरु गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको पौडेल बताउनुहुन्छ ।
बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर) को संख्या छ वटाबाट बढाएर सात बनाइएको छ । जसमध्ये दुई वटा अस्पताल विकास समितिको बजेटबाट मोडुलर शल्यक्रिया कक्ष बनाईएको हो । यो पनि अस्पताललाई अहिले अपुग छ ।
सौन्दर्यकरण समिति बनाई अस्पतालमा सरसफाइ र सजावटका काम भइरहेका छन् । अगाडिको पर्खाल पुनःनिर्माण, मुख्य बोर्ड र मन्दिरसमेतमा रङरोगन र मर्मत गरिएको छ । प्रत्येक सोमबार अतिरिक्त सरसफाइ हुँदै आएको छ । सरसफाईमा स्थानीय सामाजिक अभियान्तहरु समेत जोडिने गरेका छन
। ट्रमा इमर्जेन्सी सुरु गरिएको छ । अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाइएको छ । सि ब्लक भवनमा टरसियरी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको छ । यो काम सम्पन्न भएबाट नेशनल ट्रमा सेन्टरपछि नेपालमै दोस्रो सरकारीस्तरको ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिन सकिएको मेसु पौडेल बताउनुहुन्छ ।
नयाँ भवनमा ५० शैया क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिएको छ । जहाँ प्रयोगशाला, माईनर ओटी (सामान्य शल्यक्रिया), एक्सरे, काउन्टर, फार्मेसी लगायतका सुविधा रहेका छन् । मेसु प्रा.डा पौडेलले भन्नुभयो “आकस्मिक कक्षमा आएको बिरामी अन्यत्र जान नपर्ने गरी एउटै छानामुनि सबै सुविधा उपलब्ध गराएका छौं ।”
प्रसूति सेवालाई थप व्यवस्थित गर्न अस्पताल विकास समितिकै खर्चले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रसूतिको छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय सेवा दिने तयारी भइरहेको छ । हाल प्रसुती विभागमा ठूलो संख्यामा भर्ना र डिस्चार्ज हुने भएकाले सोही विभागमा छुट्टै काउन्टर सञ्चालन गरिएको छ । उहाँले थप्नुभयो “प्रसुती सेवाका लागि सबै सुविधा एउटै भवनबाट सहज तरिकाले होस् भनेर काउन्टर लगायतका सुविधा एकै ठाउँबाट दिएका छौं ।”
कोभिड महामारीको समयमा सघन उपचार कक्षमा शैया अभाव भएपछि थप १० शैया सघन उपचार कक्ष र पाँच शैयाको एक महिनादेखि १५ वर्षसम्मका बालबालिका राख्ने सघन उपचार कक्ष थप गर्न कार्यक्रम स्वीकृत भई कार्य अगाडि बढेको छ । उहाँले भन्नुभयो “८ शैयाको पिआईसियु र एनआईसियूलाई १० बाट बढाएर १८ बनाईदै छ ।”
दुइवर्ष अघि पन्छी प्रयोगशालामा सुरु गरिएको पिसिआर प्रयोगशाला अस्पतालकै नयाँ भवनमा सारेर सेवा नियमित गरिएको छ । टिकट काउन्टरको भीड कम गर्न काउन्टर संख्या थप गरिएको र बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । मेसु पौडेल अगाडि थप्नुहुन्छ, “टिकट काउन्टरमा भीड कम गर्न अनलाइन टिकट काट्ने व्यवस्था गरेका छौँ, तर अनलाईनप्रति चासो कम छ ।”
नेपाल सरकारले आठ वटा कडा रोगका लागि दिने सुविधा सामाजिक सेवा एकाइबाट दिँदै आएकाले यसलाई थप व्यवस्थित र चुस्त बनाउने कार्य भइरहेको उहाँ बताउनुहुन्छ । मानवस्रोत र पूर्वाधारको हिसाबले यो आफैँ मेडिकल कलेज बनिसक्नुपर्ने अस्पताल भए तापनि हालसम्म हुन सकेको छैन भन्दै उहाँ जोड दिनुहुन्छ, “तर पनि नर्सिङ, एमडी, एमएस कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस वर्ष बिएस्सी नर्सिङ सुरु गर्ने तयारी भइरहेको छ ।”
सेवालाई अझै गुणस्तरीय बनाउन क्युए (क्वालिटी एस्योरेन्स कमिटी र डियुटी अफिसर) को व्यवस्था गरी काम अघि बढाइएको छ । छिटो सेवा चाहने बिरामीलाई लक्ष्य गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधिअनुसार छुट्टै भवनमा पेइङ सुपरस्पेशलाइज क्लिनिक सञ्चालन गरिएको छ ।
चिकित्सक, नर्स र प्राविधिकलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट अनुसन्धानमूलक प्रस्तावलाई समेटने व्यवस्था गरिएको छ । शैक्षिक समिति, संस्थागत पुनरावलोकन बोर्ड गठन गरिएको छ । यो अस्पताल देशभरिका स्वास्थ्यकर्मीलाई विभिन्न तालिम दिने लोकप्रिय केन्द्र बन्दै गइरहेको सन्दर्भमा सोही अनुसारको व्यवस्थापन गरिएको मेसु पौडेल बताउनुहुन्छ ।
अस्पतालमा आवश्यक प्राविधिक जनशक्तिको निष्पक्ष रुपमा लिखित र मौखिक परीक्षा गरी चिकित्सक, नर्स र फार्मेसी प्रयोगको व्यवस्था गरिएको छ । कर्मचारी प्रशासन र अस्पताललाई अनुशासित बनाउन दण्ड र पुरस्कार दिने परिपाटीको विकास गरिएको छ । सोहीअनुसार कतिपय कर्मचारीलाई पुरस्कृत र कतिपयलाई कारबाही पनि गरिएको अस्पतालले जनाएको छ ।
एमआइआइ मेसिन गत वर्ष नै मन्त्रालयबाट स्वीकृत भए पनि अर्थमन्त्रालयमा रोकिएकामा यस वर्ष बजेट सुनिश्चित भई खरिद प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
मेसु पौडेल भन्नुहुन्छ, “बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरेका छौँ ।” फिजियोथेरापी सेवालाई ठूलो र फराकिलो ठाउँमा सारी समयसापेक्ष उपकरण थप गरी आधुनिक र चुस्त बनाइएको छ । उहाँ थप्नुहुन्छ, “दुई वर्षदेखि बन्द रहेको न्युरोसर्जरी सेवा पुनः नियमित सञ्चालनमा ल्याइएका छौँ ।”
अस्पताल परिसरमै छुट्टै सरुवा रोग अस्पताल भवनको निर्माण कार्य थालिएको छ । पार्किङस्थलमा मोज्याक टायल लगाई व्यवस्थित बनाइएको छ भने सि ब्लब अगाडिका पुराना संरचना भत्काउने कार्य जारी रहेको छ ।
फार्मेसीलाई चुस्त बनाई यसलाई बढी सेवामूलक बनाइएको छ । समयमै औषधि आपूर्ति नगर्ने आठ वटा सप्लायर्सलाई गत वर्ष कारबाही गरिएको छ । असोज १ गतेदेखि छुट्टै निःशुल्क औषधि काउन्टर खोलिएको छ । प्रसूतिका लागि २४ शैयाको छुट्टै पोस्टअप बार्ड बनाइएको छ । लेबर रुमलाई आधुनिकीकरण गरी थप पाँच लेवर बेड थप्ने काम भएको छ ।
अस्पतालमा हाल सञ्चालनमा रहेका छ सय शैयामध्ये एक सय ५० शैयाका लागि मात्रै सरकारी दरबन्दी छ । अन्य विकास समितिका कर्मचारीमार्फत काम गर्नुपरेको छ । संगठन संरचना प्रतिवेदन बनाइएको र यसबाट भरतपुर अस्पतालका लागि एक हजार ८५ चिकित्सक कर्मचारी थप गर्नुपर्ने भएको छ । हाल नेपाल सरकारका एक सय ७५ चिकित्सक कर्मचारी मात्रै कार्यरत छन् । ती मध्ये ४६ जना चिकित्सक छन् ।
सर्भेक्षण प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको उहाँको भनाइ छ । पछिल्लो समय अस्पतालले सुधारका महत्वपूर्ण काम गरे पनि निजी ठूला अस्पतालसँग दाँज्दा धेरै कमीकमजोरी देखिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल बताउनुहुन्छ । “ओएनएम सर्भेअनुसारका कर्मचारी आउँदै गर्दा अनुभूति हुने गरी सेवा दिन हामी सक्छौँ” अध्यक्ष पौडेलले भन्नुभयो “यो राजधानी बाहिरको नेपाल सरकारको धेरै बिरामीलाई सेवा दिने अस्पताल हो ।”
अस्पतालमा ढल निकासको भने समस्या रहेको छ । ढल निकासका लागि भरतपुर महानगरलाई अनुरोध गरिएको छ । ट्रमाका बिरामीको चापलाई मध्यनजर गर्दै आकस्मिक कक्षमाथि रु.५ करोड खर्चेर विकास समितिले नै ट्रमा सेन्टर बनाउन लागेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो “रु.६ करोड हाराहारी लागतमा पानी ट्याङ्की र रु.१६ करोड हाराहारीको आवास (क्वाटर) समितिले नै निर्माण गर्ने तयारीमा छौं ।”
अस्पतालमा एनेस्थेसियोलोजिष्ट र शल्यक्रिया कक्षको अभाव हुँदा शल्यक्रियाका लागि लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको छ । कतिपय बिरामीले सात महिनासम्म पालो कुर्नु परेको छ । बिरामीको चाप अनुसार कर्मचारी र आबश्यक उपकरण नहुँदा बिरामीले दुःख अहिले पनि पाईरहेका छन् । अध्यक्ष पौडेलको नेतृत्वको टोलीले हालै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी अस्पतालका समस्याको बारेमा अवगत समेत गराएको छ । यसलाई मेडीकल कलेजको रुपमा बिकास गर्ने अस्पतालको उद्धेश्य छ ।





