चितवनः भरतपुर महानगरपालिकाले बि. सं. २०८० लाई भ्रमण वर्षको रुपमा मनाउने भएको छ । भ्रमण वर्षको तयारी थालिएको छ । महानगरपालिका भित्र रहेका ३० वटा गन्तव्यको प्रचार प्रसार र प्रबद्र्धन गर्दै भ्रमण वर्ष गर्न लागिएको हो ।
महानगरपालिकाले भ्रमण बर्षका सन्दर्भमा सरोकारवालाहरु बिच आज यहाँ छलफल गरेको छ । छलफलका क्रममा सहभागीहरुले जिल्लामा आएका पर्यटकको बसाई लम्व्याउन सक्ने गरि कार्यक्रम तय गर्न सुझाव दिएका थिए । पर्यटन व्यवसायीहरुले भ्रमण वर्षका लागि विशेष कार्यक्रमहरुको घोषणा गर्नु पर्ने जनाएका छन् । पालिका भित्र रहेका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नु पर्ने उनीहरुको भनाई थियो ।
वडामा रहेका हरेक टोल सुधार समितिहरुलाई सक्रिय बनाउँदै पर्यटन वर्ष २०८० सफल वनाउन महानगरलाई नीजि क्षेत्रले सुझाब दिएका थिए । महानगर भित्र रहेका पर्यटकीय गन्तव्यहरुको पूर्बाधार विकासमा महानगरले जोड दिनुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले आर्थिक अबस्था बिग्रदै गएको अबस्थामा यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । भरतपुर महानगर भित्र २५० वटा होटल रहेको र जिल्ला भर ६ सय भन्दा बढी होटल रहेको उहाँले जानकारी दिनु भयो । जिल्लामा भएका होटलहरुलाई चलायमान बनाएर जानुपर्ने उहाँको भनाई थियो । भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन व्यवसायीहरुले बिशेष छुटका कार्यक्रमहरु घोषणा गर्ने उहाँको भनाई थियो ।
भरतपुर महानगरका पर्यटन बिज्ञ डा. बिश्व सुवेदीले भरतपुर महानगरलाई पर्यटकीय क्षेत्रको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नका लागि सबैको सहयोग आबश्यक रहेको बताउनुभयो । बिग्रदैं गएको अर्थतन्त्रलाई सुधारका लागि भ्रमण बर्ष सकारात्मक हुने उहाँको भनाई थियो । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण बर्षका क्रममा रात्रीकालिन मनोरञ्जनका कार्यक्रमहरु तय गरेर अघि बढ्न सके राम्रो हुने सुझाब दिनुभयो । भ्रमण वर्ष २०८० सम्पन्न गर्नका लागि नीजि क्षेत्र तयार रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं भरतपुर भ्रमण बर्ष २०८० को कार्यकारी समिति सयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो भरतपुर राम्रो भरतपुर अथाह पर्यटकीय सम्भावना बोकेको पालिका हो । अर्थतन्त्रमा पर्यटन व्यवसायको महत्वपूर्ण योगदान रहँदै आएको छ ।”
कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, चेम्वर अफ कमर्शका अध्यक्ष दिर्घमान श्रेष्ठ, पर्यटन कर्मी अपिल घिमिरे लगायतले भ्रमण बर्ष २०८० सफल बनाउन गरिनु पर्ने सुझाबहरु दिनुभएको थियो । सामाजिक सञ्जाललाई सक्रिय बनाउन उहाँहरुले महानगरलाई आग्रह गरेका थिए ।
भरतपुर महानगरले बि. सं. २०८० साललाई भ्रमण बर्षको रुपमा घोषणा गरेर बिभिन्न कार्यक्रमहरु तय गर्दै छ । यसको तयारी स्वरुप बिभिन्न उपसमितिहरु गठन गर्ने तयारीमा महानगर रहेको छ ।






