चितवनः चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीले गैंडा मारे पछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन गर्न टोली गठन गरेको छ । टोली गठन भए संगै अध्ययन थालिएको छ ।
विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा ६ सदस्यीय टोलीले चोरी शिकारीले गैंडा मार्न थालेपछि अध्ययन सुरु गरेको हो । अध्ययन सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाउने गरी विभागले अध्ययन टोली पठाएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।
अध्ययन टोलीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदी, जेड एस एल नेपालका कार्यक्रम संयोजक विष्णु थपलिया, विश्व वन्यजन्तु कोषको वन्यजन्तु अपराध नियन्त्रण शाखाका प्रमुख माधब खड्का र सदस्य सचिबमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक अनुसन्धान अधिकृत रुपक महर्जन रहनु भएको छ ।

केही समय अघि चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत भूताहा क्षेत्रमा चोरी शिकारीले बिद्युतीय तारको प्रयोग गरी गैंडा मारे संगै अध्ययनका लागि टोली गठन गरिएको हो । गैंडाको बासस्थान, संरक्षणका चुनौती लगाएतका बिषयमा सो टोलीले अध्ययन गर्ने छ । यस अघि सम्म चोरी शिकारीले बिद्युतीय तारको प्रयोग गरेर गैंडा मारेका थिएनन् ।

टोलीलले अध्ययन पछि चितवन राष्ट्रिय निकुञ्जमा हाल भईरहेको समग्र संरक्षण र सुरक्षा व्यवस्था, चोरी शिकार प्रतिरोध इकाईको प्रभावकारिता र सुराकी सञ्जालको अवस्था, संरक्षणमा समुदायको भूमिका र परिचालनको अबस्था, वन्यजन्तु अपराध नियन्त्रणको लागि प्रयोगमा ल्याईएको प्रबिधिहरुको अबस्था, वन्यजन्तु संरक्षणमा अन्य सरोकारवाला निकायहरुको सहभागिता बढाउन गर्नुपर्ने कार्य सम्बन्धी राय सहितको सुझाब पेश गर्ने छ ।

यस्तै टोलीले आगामी दिनमा चोरी शिकारीका घटना दोहोरिन नदिन अत्यावश्यक कार्यहरुको पहिचान समेत गरेर सुझाब विभागमा पेश गर्ने छ । अहिले टोलीले स्थलगत अध्ययनको काम गरिरहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो काम समे पछि तथ्याङ्क संकलन गरी विभागमा रहेर काम हुने छ । टोलीले दिएको प्रतिवेदनका आधारमा निकुञ्ज विभाग र चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा आफ्नो रणनीति बनाउने तिवारीले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १२ वटा गैंडा मरेका छन् । ती मध्ये २ वटा चोरी शिकारीले मारेका हुन भने १० वटा कालगतीले मरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार यस निकुञ्जमा ६९४ वटा गैंडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !