
चितवनः यही माघ २८ गते देखि स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेटेरान फुटवल क्वबको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका १६ टोली सहभागी हुने प्रतियोगिताका संयोजक हरि प्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रतियोगितामा भारतको कलकत्ता भेटेरान सहित नेपालबाट आयोजक चितवन भेटेरान निलो, चितवन भेटेरान रातो, अभिषेक चर्च भेटेरान रजहर, नागासोती भेटेरान क्लब हेटौंडा, सिमरा भेटेरान सिमरा, डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भुपू सैनिक जबई स्पोर्टिङ, भनी मण्डल भेटेरान, एक्स महेन्द्र पुलिस क्लब, बगरभाई खलक भेटेरान, हेटौंडा भेटेरान, फ्रेण्ड्स भेटेरान, दरबार भेटेरान नुवाकोट र थापा गाउँ सुधार समिति भेटेरान सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । नक आउटका आधारमा हुने प्रतियोगितामा दुबै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको विजेताले रु १ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले रु ७५ हजार ५ सय प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगिता भरको सर्वोकृष्ट खेलाडीले नगद रु दश हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले रु ५÷५ हजार प्राप्त गर्नेछन् ।
हरेक खेलको म्यान अफ दि म्याचले रु १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न रु ११ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा ४० वर्ष माथिका खेलाडी सहभागी हुने छन् ।