धनगढीः नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने अडान कायम राखेको छ । पार्टीले आफ्नो अडान कायम लिइरहेका बेला नेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् ।

आज साँझ ५ बजेसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्नेछ । त्यसअघि नै कांग्रेस नेताहरुले भने सक्रियता बढाएको छ । प्रदेश सभापति वीरबहादुर बलायरले विभिन्न पक्षसँग बुधबार भेटघाट गर्नुभएको थियो । सभामुख भीमबहादुर भण्डारीसँग बलायरले आपत्ति नै जनाउनुभएको हो । बुधबारको प्रदेशसभा बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै बलायरले आपत्ति जनाउनुभएको थियो ।

‘सभामुख साझा व्यक्ति भएका कारण यस्तो गर्नुहुदैन्थ्यो भन्ने हाम्रो भनाइ हो । यसमा हाम्रो आपत्ति छ’ कांग्रेस प्रदेश सभा सदस्य मेघराज खड्का भन्छन् ।उहाँका अनुसार सभामुखको भूमिका र सम्भावित राजनीतिक परिदृष्यबारे छलफल गर्न अनौपचारिक रुपमा कांग्रेस संसदीय दलमा समेत छलफल भइरहेको छ ।

कांग्रेसलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । कांग्रेसको छलफलमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी बुधबारको छलफलमा सहभागी हुनुभएको थियो । नागरिक उन्मुक्तिले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिए ठूलो पार्टीको हैसियतमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्ने भन्दै प्रदेश सभापति बलायरले सांसदहरुलाई निर्देशन नै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !