चितवन – बैंकिक समस्या समाधानको माग गर्दै चितवनका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।
उद्योग वाणिज्य संघ चितवनको नेतृत्वमा ३६ वटा वस्तुगत संघहरुले आज नारायणगढको लायन्सचोकमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।
अर्थतन्त्रमा तथा निजी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार उदासिन भएको उद्योगी व्यवसायीहरुको आरोप छ । उध्याेग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले समस्या समाधानका लागि पटक पटक महासंघस्तरबाटै पहल तथा ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको भन्दै आन्दोलन थप चर्काउने चेतावनी समेत दिनुभयाे । बैंकको चर्को व्याजदरले व्यवसायीहरु मारमा परेको उनीहरुको भनाई थियो । दुई अंकमा भएको व्याजदर वृद्धि एक अंकमा झार्नुपर्ने उनीहरुको माग छ । राजस्व संकलनमा ८० प्रतिशत योगदान गरिरहेको निजी क्षेत्रको माग सम्बोधनमा सरकार उदासिन भएको उनीहरुको गुनासो छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष सहनलाल प्रधानले व्यवसायमा व्यस्त हुनुपर्ने व्यवसायीहरु सडकमा उत्रिनुपर्ने अवस्था आउनु दु:खद भएको बताउनु भयो । सरकारको उदासिनतका कारण यो अवस्था सृजना भएको उहाँको भनाई थियो । देश सञ्चालनमा ७० प्रतिशत भन्दा बढी राजस्व तिरेर योगदान गर्ने व्यवसयीहरुको माग प्रति सरकारको ध्यानाकर्षण नभएको उहाँले बताउनु भयो ।

आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरुले सरकारले व्यवसायीमैत्री नीति ल्याउन पर्ने माग राखे । उनीहरुले माग पुरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी समेत दिए । यस्तै उनीहरुले संसदभवन अगाडी देहत्यागको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधनप्रति दुःख समेत व्यक्त गर्दै एक मिनेट मौन धारण गरेका थिए । प्रेमप्रसादको नियति कसैले भोग्नु नपरोस् भन्दै उनले सामाजिक सञ्जालमा लेखेका २५ बुँदे ध्यानाकर्षणका मुद्धाहरु सरकारले पूरा गर्नुपर्ने उनीहरुको माग थियो ।

प्रतिक्रिया दिनुहोस !