चितवनः एशियन गैंडा संरक्षणका लागि चितवन घोषणा पत्र २०२३ जारी गर्दै पाँच देशका उच्च अधिकारीहरुको छलफल सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले पटिहानीमा माघ २० गते देखि सञ्चालन गरेको अन्तर्राष्ट्रिय छलफलमा गैंडा संरक्षणमा देखिएका समस्याका उपायहरुको खोजि गरिएको थियो ।
गैंडाको संख्या व्यवस्थापन, वासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा जोड दिने निर्णय गर्दै अन्तर्राष्ट्रिय छलफल सकिएको हो । बिभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार गैंडा पाइने एशियाली राष्ट्रहरुको ६ वटा बिषयगत क्षेत्रहरुमा छलफल भएको थियो । सन् २०१९ मा भारतमा सम्पन्न दोस्रो बैठकले जारी गरेको एशियन गैंडाको लागि नयाँ दिल्ली घोषणापत्र २०१९ को पुनरावलोकन समेत गरीएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा गैंडा संरक्षणको अबस्था सम्बन्धि राष्ट्रिय प्रतिवेदन, गैंडा संरक्षणका लागि प्राबिधिको प्रयोग तथा सहकार्य, संरक्षण तथा चोरी शिकार नियन्त्रण, जलवायु परिवर्तन तथा गैंडा संरक्षण, गैंडा संरक्षणमा अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोग लगाएतका बिषयमा छलफल भएको थियो । यस्तै गैंडाको बासस्थानको स्थलगत अवलोकन समेत गरिएको थियो । पछिल्लो समय गैंडा संरक्षणमा देखिएका चुनौतिहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बिषय मुख्य रुपमा उठान भएको उहाँले बताउनुभयो ।
बैठकमा भुटान, भारत, इण्डोनेशिया, मलेशिया र नेपालले आ– आफ्नो देशको अनुभव सफल कार्य, प्रबिधि, साझा सवाल तथा भाबी योजना जस्ता बिषयहरुमा प्रस्तुति सहित छलफल गरिएको थियो । बैठकमा गैंडा संरक्षणको लागि सहकार्य गरी गर्नुपर्ने कार्यहरु, भावी प्रथामिकताका क्षेत्रहरु, गैंडाको चोरी शिकार तथा तिनका अङ्गको अबैध व्यापार नियन्त्रण, खण्डीकरण र क्षयीकरणबाट वासस्थानको सुरक्षा तथा गर्नुपर्ने सुधार जस्ता बिषयमा छलफल भएको कार्कीद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ । यस्तै गैंडाको व्यवस्थापन, गैंडा–मानव द्धन्द्ध व्यवस्थापन, वन्यजन्तुको स्वास्थ्य, सीमापार समन्वय र सहकार्य तथा जलवायुजन्य असरलाई न्यूनीकरण गर्ने बिषयहरुमा विस्तृत छलफल गरिएको थियो ।
छलफलका क्रममा गैंडा रहेका देशहरु भारत, नेपाल, इण्डोनेशिया लगाएतका देशमा हुन सक्ने संरक्षणका चुनौतिका बिषयमा छलफल भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा. महेश्वर ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “संरक्षणका लागि निकुञ्ज, बिभाग, स्थानीय सरकार र प्रदेश सरकार बिच समन्वयको जरुरी देखिन्छ ।” संरक्षणका लागि निकुञ्जको व्यवस्थापनमा सबै तह बातावरण अनुकुलीत भएर लाग्न सकेमा मात्रै संरक्षणमा सफल भईने उहाँको भनाई छ । कोशिटपु वन्यजन्तु आरक्षमा गैंडाको वासस्थानको खोजी भईरहेको उहाँले बताउनुभयो ।

बिकास र संरक्षणको पाटोलाई संगसंगै लान सकेमा मात्र संरक्षणमा सहयोग पुग्ने ढकालले बताउनुभयो । निकुञ्ज र जनता बिचको सम्बन्धलाई बलियो वनाएर संरक्षणमा जुट्नुपर्ने छलफल भएको उहाँले बताउनुभयो ।
अहिले भारतमा ३ हजार २६६ वटा, नेपालमा ७५२ वटा र इण्डोनेशियामा १५५ वटा गैंडा रहेको तथ्याङ्क रहेको छ । मलेसीया र भुटानमा संरक्षणको कोशिस गर्दा गर्दै पनि सफल हुन सकेको छैन । पाँच बाहेकका अरु देशबाट पनि गैंडासँग सम्बन्धित विज्ञहरुको सहभागीतामा छलफल भएको थियो । यस अघि पहिलो बैठक इण्डोनेशिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !