काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘जय हो’को नायिकामा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो ।

फिल्मका प्रमुख कलाकारमा अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ यसअघि नै तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने फिल्म पूर्ण मनोरञ्जनात्मक हुने जनाइएको छ ।

फागुन २५ गतेदेखि पोखरा र मुस्ताङमा छायांकन हुने फिल्मलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्दैछन् । प्रस्तुतकर्ता बस्नेतले कमेडी, लभस्टोरी र एक्सन तत्व मिश्रण गरेर फिल्म निर्माण हुने बताए ।

फिल्मलाई आगामी भदौमा प्रदर्शन तयारी गरिएको बस्नेतले जानकारी दिए । सुरेश न्यौपानेको पटकथा रहेको फिल्मले मुस्ताङको पर्यटन विकासमा टेवा पुग्ने आशा निर्माताले लिएका छन् । फिल्म सलोन सलिना ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस !