चितवनः नेपाल एथलेटिक्स संघ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता चितवनको माडीमा हुने भएको छ । फागुन ११ गते देखि १३ गते सम्म माडी नगरपालिकाको बसन्तपुर खेल मैदानमा हुने छ ।
चितवन जिल्ला एथलेटिक्स संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय प्रतियोगिता हुन लागेको जनाएको हो । प्रतियोगितामा सात प्रदेशबाट १३५ जना महिला र पुरुष खेलाडी सहभागी हुने संघका जिल्ला अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिनुभयो । प्रतियोगितामा एक प्रदेशबाट हरेक बिधामा दुई जना खेलाडी सहभागी हुन पाउने छन् । खेलाडीहरुले २६ वटा बिधामा प्रतिस्पर्धा गर्ने छन् । २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । प्रतियोगितमा प्रथम हुनेलाई रु ५ हजार, द्धितिय हुनेलाई रु ३ हजार र तृतीय हुनेलाई रु २ हजार पुरस्कार प्रदान गरिने छ ।

विश्व एथलेटिक्सको नियममा रहेर प्रतियोगिता सञ्चालन गरिने छ । ग्रामीण स्तरमा प्रतियोगिता गरी खेलाडीहरु उत्पादन गर्ने, खेललाई पर्यटन र बिकाससंग जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न रु २७ लाख २ हजार ७२० लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीलाई नगद रु ७ हजार सहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितामा १÷१ जना उत्कृष्ट महिला पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस !