चितवन: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागको आयोजनामा आज देखि जिल्लाको पटिहानीमा गैंडा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय छलफल सुरु भएको छ । छलफलमा एशियाका पाँच देश सहित १० देशका संरक्षणकर्मीहरुको सहभागीता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन वहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौति थपिदैं गएको बताउनुभएको छ । दुर्लभ एक सिंगे गैंडा संरक्षणमा राज्यले बिशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “गैंडा सहित वन्यजन्तु संरक्षणका लागि बिस्तृत रुपमा योजना बनाएर अघि वढ्नु पर्छ ।” तीनै तहका सरकारको संयोजनमा गैंडा संरक्षण गर्नु पर्ने समय आएको उहाँले बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भिडियो सन्देश समेत सुनाईएको थियो । भिडियो सन्देशमा प्रधानमन्त्री दाहालले सम्मेलनको शुभकामना दिनु भएको थियो । उहाले सन्देशमा एक सिंगै गैडा नेपालको लागि अमुल्य सम्पत्ती भएकाले यसको सुरक्षामा नेपाल सरकार संवेदनशील रहेको बताउनुभयो । उहाले गैंडाको सुरक्षाको लागि वासस्थान चुनौती पूर्ण वन्दै गएको भन्दै सम्वन्धीत क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर ती जनवारलाई जोगाउने बताउनुभयो ।
उहाले नेपालको प्राकृतिक सम्पदा, जनावर, एकसिंगै गैंडालगायत वन्य जन्तुको वासस्थान भएकै कारण विदेशीहरु नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुगेको बताउनुभयो । जनावरको संरक्षणले पारिस्थतिक प्रणालीको रक्षा गर्ने भन्दै उहाँले नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । स्थानीयको सहयोग र सहभागीतामा संरक्षित जनावरको सुरक्षा गरिने प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । विश्वमा भइरहेको वातावरणीय प्रभावको कारणपनि जनावरको संरक्षणमा चुनौती थपिदै गएको प्रधानमन्त्री दाहालले सन्देशमा बताउनु भएको थियो ।
‘थर्ड राईनो रेञ्ज कन्ट्रिज मिटिङ’ नेपाल, भारत, भुटान, इण्डोनेशिया र मलेसियाका उच्च अधिकारीहरु बैठकमा सहभागी भएका छन् । उनीहरुले आ–आफ्नो देशमा गैंडा संरक्षणमा भएका कामहरुलाई जानकारी गराउने कार्यक्रम रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तका अनुसार बैठकमा भेनेजोयला, संयुक्त अरब इमिरेट्स, केन्या, दक्षिण अफ्रिका लगाएतका देशका संरक्षण कर्मीहरु पनि सहभागी हुने छन् । उनीहरुले गैंडा संरक्षणमा देखिएका चुनौति र भावि योजनाको बिषयमा छलफल गर्ने छन् । संरक्षणको बिषयमा सामुहीक दायीत्व लिएर कसरी अघि बढ्न सकीन्छ भन्ने बिषमा समेत छलफल हुने उहाँले जानकारी दिनुभयो । नेपाल बिश्वमानै एक सिंगे गैंडाको दोस्रो बास्वस्थानको रुपमा रहेको छ । भारतको काजिरंग पछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैंडा पाइन्छ ।
बिदेशमा गैंडा संरक्षणमा भएका प्रयास र सिकाईलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी वन्ने छ । कार्यक्रममा संरक्षणका बिषयमा भावि योजना समेत निर्माण गरीने पन्तले वताउनुभयो । पाँच देशका अधिकारीहरुले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासको बारेमा जानकारी गराए संगै बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपालका तर्फबाट बातावराण्मा आएको परिवर्तनले बन्यजन्तु र बास्वास्थनमा परेको असर र गैंडा संरक्षणमा भएका काम संगै शून्य चोरी शिकारी नियन्त्रणका बिषयमा कार्यपत्र प्रस्तुत गरीने छ । शनिबार गैंडाको बास्वस्थानको अध्ययन गरिने कार्यक्रम रहेको छ । यस्तै आईतबार संरक्षण सम्बन्धि चितवन घोषणा पत्र सार्बजनिक गरीने छ ।

छलफलमा बिदेशका ३० जना र नेपालका ३० जना संरक्षण कर्मी तथा अधिकारीहरु सहभागी हुने छन् । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा. महेश्वर ढकाल, राष्ट्रिय प्रकृति संरषण कोषका अध्यक्ष डा. कृष्ण प्रसाद ओली र बिभागका उपमहानिर्देशक अजय कार्कीले बोल्नु भएको थियो ।
विश्वमै सबैभन्दा बढी एकसिंगे गैंडा क्रमशः भारत र नेपालमा पाईन्छ । यसको संरक्षणमा देखिएका चुनौतीहरुका विषयमा बृहत छलफल गरी आगामी योजनाकाहरु तय गरिने बताईएको छ । यस अघि पहिलो बैठक इण्डोनेशिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !