चितवन: बारीमा उत्पादीत तरकारीले बजार मूल्य नपाए पछि यहाँका कृषकहरुले सडकमा तरकारी पोखेर प्रदर्शन गरेका छन् । आयातीत तरकारीले नेपालमा उत्पादीत तरकारीको मूल्य घटाएको भन्दै जिल्लाका अगुवा कृषकहरुले बिभिन्न प्रकारका तरकारी पोखेर प्रदशृन गरेका हुन ।
किसान संघर्ष समिति मार्फत भरतपुरको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरीएको हो । पुलचोकमा घिउसीमी, गोल्भेडा, फर्सि, गाजर, काउली, बन्दा लगाएतका तरकारी सडकमा पोखेर प्रदर्शन गरेका थिए । किसानले बारीमा लगाएको तरकारीको बजार मूल्य नपाएको भन्दै उनीहरुले सडकमा तरकारी पोखेर बिरोध प्रदर्शन गरेका हुन ।
संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बिदेशको आयात नरोकिदा यहाँ उत्पादित तरकारीले बजाको मूल्य पाउन नसकेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा १ हजार ५ सय हेक्टर क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । अहिले भारतीय तरकारीले नेपालको वजार मूल्यमा गिरावट ल्याएको भन्दै उहाँले आयात रोक्न सरकारले ध्यान नदिदा नेपाली कृषक समस्यामा परेको बताउनुभयो । आँफुहरुले संघिय, प्रादेशीक र स्थानीय सरकार संग आयात रोक्न आग्रह गर्दा समेत सुनुवाई नभएको उहाँको भनाई छ ।
जिल्लामा दैनिक ३ सय टन तरकारी उत्पादन हुँदै आएको छ । यस्तै पाँच बिगाह भन्दा माथि क्षेत्रफलमा तरकारी खेति गर्ने किसान एक सय जना र १ विगाह भन्दा माथि क्षेत्रफलमा तरकारी खेती गर्ने किसान ३ सय रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ उत्पादीत तरकारी चितवन सहित काठमाडौं, पोखरा र भैरहवामा खपत हुँदै आएको छ । उत्पादीत तरकारीले बजार मूल्य नपाउँदा सडकमा तरकारी छर्नु परेको उहाँको गुनासो रहेको छ ।
अर्का किसान अविन्द्र सुवेदीले किसानको आवाज राज्यले नसुन्दा सडकमा तरकारी पोखेर आन्दोलन गर्नुपरेको बताउनुभयो । राज्यले किसानलाई व्यवस्थित गर्ने की विस्थापित गर्ने भन्ने बिषयमा ध्यान दिन नसक्दा तरकारी सडकमा पोख्नु परेको उहाँको भनाई छ । कृषकले पुलचोकमा पाँच ट्याक्टर तरकारी पोखेर सांकेतीक विरोध गरेका हुन ।

प्रतिक्रिया दिनुहोस !