चितवनः शहरी बिकास मन्त्री बिक्रम पाण्डेले नेपाल ऋषिमुनीहरुको तपोभूमी रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आज देखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै उहाँले नेपाल पूर्बवत रुपमा शान्ति, शुव्यवस्थित हुनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “यो भूमि पूर्बबत रुपमा एउटा शान्ति, सुव्यवस्थित होस र दानवहरुको नगरा, पन्जाबाट मुक्तहोस भन्ने मैले भगवानसंग पुकार गर्छु ।” यो महायज्ञ हिन्दु धर्मावलम्बिहरुको मात्रै नभएर देशै भरका सबै धर्म मान्नेहरुको लागि भएको उहाँको भनाई थियो । विश्वशान्ती र मानब जातिको रक्षाका लागि यस्ता महायज्ञहरु हुन जरुरी रहेको उहाँले बताउनुभयो । यहाँ आएर सबै धर्मावलम्बिहरुले पूण्यलिने उहाँले बिश्वास व्यक्त गर्नुभयो । महायज्ञका लागि सबैले सहयोग गर्न उहाँले अपिल समेत गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशबराज महर्जन, समाजसेबी टंकनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कडेंल, पूर्ब सांसद गोविन्द कडेंल, समाजसेबी उमाशंकर अग्रवाल प्रमुख बाचक परशुराम पाण्डे लगाएतले बोल्नुभएको थियो ।
महायज्ञ आयोजक समितिका संयोजक प्रेमनिधि भारद्वाजले महायज्ञ सम्पन्नगर्न रु २ करोड ५० लाख खर्च हुने बताउनुभयो । एक महिना सम्म चल्ने सो महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्तिबालिने उहाँले जानकारी दिनुभयो ।
महायज्ञमा दैनिक ६ क्विन्टल भन्दा बढी चरु हुमन हुने छ । जौ, तिल, चामल, घ्यु लगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवनहुनलागेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गरिएको हो । महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्रीमन्त्रद्वारा १ महिना सम्म हवन गरिने छ । तर्पण एवं मार्जन, श्रीमद् भागवत तथा शिव महापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्म मूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवं राजनैतिक व्यक्ति सहभागी हुने छन् ।






