चितवनः इच्छाकामना गाउँपालिकामा यही पुस १९ गते बहुलाहा कुकुरले मानिसलाई टोके संगै त्यहाँका कुकुरहरुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन सुरु गरीएको छ । घरपालुवा एबं छाडा छोडिएका कुकुरहरुलाई भ्याक्सिन दिईएको हो ।
मानिसलाई टोक्ने कुकुरको नमुना परिक्षणका क्रममा रेबिज देखिए संगै अन्य कुकुरहरुलाई नियन्त्रणमा लिएर भ्याक्सिन दिन थालिएको पशु सेवा शाखा इच्छाकामनाका प्रमुख रञ्जीत बि.क.ले जानकारी दिनुभयो । एउटा कुकुरले गाउँपालिका वडा नम्बर ३ का २७ जनालाई टोकेको थियो । त्यस कुकुरलाई भने तत्काल मारिएको थियो । उहाँका अनुसार अहिले सम्म १५० डोज भ्याक्सिन सकिएको छ । थप भ्याक्सिन माग गरी अभियानलाई तिब्र पारिएको उहाँले जानकारी दिनुभयो । अहिले थप २ सय भ्याक्सिन आँफुहरुलाई उपलव्ध भएको उहाँले बताउनुभयो ।
कुकुरलाई रेबिज संक्रमण देखिए पछि संकास्पद कुकुरहरुलाई नियन्त्रणमा लिएर १५ दिन क्वारेन्टिनमा राखि छोडीएको छ । रेबिज देखिए संगै त्यस कुकुरको सम्पर्कमा पुगेका मानिस तथा पशु चौपायलाई समेत भ्याक्सिन दिने काम भईरहेको उहाँले जानकारी दिनुभयो । मानिसलाई स्वास्थ्य शाखाले भ्याक्सिन दिईरहेको छ भने पशु चौपायलाई पशु सेवा शाखाले काम गरीरहेको छ । उहाँले भन्नुभयो “भ्याक्सिन दिनका लागि अरु कुकुर समाउन स्रोत साधनको अभावका कारण कठिन भएको छ ।” अहिले कुकुर वन्ध्याकरण गर्न समेत कठिन भएको उहाँले बताउनुभयो । रेविजका कारण कुकुरका छाउरा र एउटा गोरु मरेका छन् ।

प्रतिक्रिया दिनुहोस !