चितवनः दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बन्द गरेर काम गरिने भएको छ । गएको पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिंदै आएको छ । माघ ५ गते बाट भने दिउँसो १२ वजे देखि ४ बजे सम्म थप ३० वन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सवारी नरोकि भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो ।
सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई. कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधिन ५ पुल मध्ये ३ वटाको भित्तो काट्ने काम सकिएको छ । यस अघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसंक्रान्तिका कारण सवारी रोकीएको छैन ।
उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुईनको दायाँ पट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रे पट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुईनको भित्तो ४५ मिटर अग्लो चट्टानी भिर रहेकाले काम गर्न कठिन भएको हो । काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो ।
आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलहरु संगै काम थालिएका ९ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका ५ वटा पुल बनि सकेका थिए । ५ वटा पुल निर्माणाधिन रहेका छन् । एउटा पुलको जगमा ६ वटा घरटहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको कार्कीले बताउनुभयो । बिश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर वसेकालाई हटाउनु पर्ने प्राबधान रहेको छ । यस्तै अन्य पुल रहेका ठाउँमा २० घर टहरा रहेका छन् । ती हटाउनका लागि रु १ करोड हाराहारी राहात दिनुपर्ने हुन्छ ।
बि. सं. २०७६ चैत्र १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु १ अर्ब २५ करोडमा ठेक्का दिईएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अबरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अबधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।
सो सडकको चौडाई ९ देखि ११ मिटर सम्म रहेकोमा पुल साँघुरो भए पछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकीला वनाईएको छ ।





