चितवनः कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ संकलन शुरु गरेको छ । नगरपालिकाले आजसम्म तीन सय ट्रिपर नदीजन्य पदार्थ संकलन गरेको हो ।

नगर प्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुंगा, गिटी, बालुवा उठाएर वडा नं. ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ । दैनिक रुपमा ट्रिपर र जेसिबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो । उहाँका अनुसार तटबन्ध गरिएका खोलामा समेत असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाईएपछि कडाईका साथ संकलन थालिएको हो ।

उहाँले भन्नुभयो “नगरवासी खुशी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौं ।” अझै दुई सय ट्रिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान गरिएको छ । सबै सामग्री संकलन गरिसकेपछि बोलपत्र आव्हान गरिने छ । त्यहाँबाट प्राप्त राजश्वलाई जुन वडाबाट उठाईएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उहाँले बताउनुभयो ।

स्थानीय प्रहरी प्रशासनको सहयोगमा काम भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “केही व्यवसायी साथीहरुको दवाव भए पनि अवैध काम गर्न दिईदैन ।”

प्रतिक्रिया दिनुहोस !