चितवनः चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैंडा मृत अबस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदिको वगरमा भाले पाटेबाघ मृत फेला परेको हो । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उहाँले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो ।
यस्तै बुधबारनै निकुञ्जको सौराहा क्षेत्र अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिङ्ग पहिचान हुन नसकेको गैंडा मृत फेला परेको छ । अन्दाजी ५ वर्षको गैंडा मृत फेला परेको तिवारीले जानकारी दिनुभयो । बाघको आक्रमणबाट गैंडा मरेको उहाँले जानकारी दिनुभयो । खाग र खुर सुरक्षित रहेको छ । यस संगै चालु आर्थिक वर्षमा प्राकृति कारणबाट ८ वटा गैंडा मरेका छन् । यस वर्ष चोरी शिकारीबाट गैंडा मर्न पाएका छैनन् ।






