चितवनः जिल्लामा रहेका एचआईभी संक्रमितहरुमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्क अनुसार जिल्लामा रहेका संक्रमित मध्ये २३० जनामा कुपाषण देखिएको छ ।
कुपोषण हुनेमा महिलाको संख्या धेरै रहेको एएचएफ नेपालका बरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितहरुमा पिछडा वर्गका समुदायमा बढी संख्यामा कुपोषणको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका संक्रमितहरुमा कुपोषणको समस्या देखा परेको हो । परिवारका सदस्यहरुमा संक्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उहाँको भनाई छ । कुपोषणका कारण एचआईभि एड्स संक्रमितहरुमा बिभिन्न किसिमका समसया देखिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कुपोषणका कारण रोगसंग लड्ने क्षमताको बिकास नहुँदा अन्य रोगहरुको संक्रमण बढ्दै जाँन्छ ।” रोगसंग लड्ने क्षमताको बिकास नभए पछि शरिरमा भाइरसको संख्या बढ्ने, रक्त अल्पता हुने, दैनिक आर्यआर्जनमा समस्या हुने, क्षयरोग, झाडापखला, घाउ खटिरा हुने, ज्वरो आउने, निमोनिया हुने जस्ता समस्याहरु भईरहने उहाँले बताउनुभयो ।
जसका कारण मानब स्वास्थ्यमा नियमित समस्या देखिने गरेको उहाँको भनाई छ । एचआईभी एड्स सङ्क्रमितहरुमा कुपोषणको समस्या नहोस भनेर कार्यालयले उनीहरुलाई जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय सरकारहरुसंग समन्वय गरेर पोषण युक्त खानाका लागि सहयोग गरेको छ ।
अहिले जिल्लामा एक हजार एक सय १० जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । उनीहरुले नियमित औषधि सेवन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सापकोटाका अनुसार सन् २०२२ मा जिल्लामा ११४ जना जनाँ सङ्क्रमित थपिएका छन् । जस मध्ये ३४ जना भरतपुर अस्पतालमा र ८० जना जिल्लामा रहेका बिभिन्न संघ संस्थाहरुको सक्रियतामा पत्ता लागेका हुन । यस वर्ष सेन्टरबाट १४५ जना नयाँ बिरामीले औषधि सेवन गर्न थालेका छन् । जस मध्ये ३१ जना जिल्ला बाहीरबाट यहाँ आएका हुन । यस्तै यस बर्ष जिल्ला छाडेर स्थानान्तरण हुनेको संख्या ४६ जना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !