चितवनः चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले सरकारी अस्पतालमा लिईने शुल्कमा नै क्यान्सरको उपचार शुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी दररेटमा नै उपचार सेवा दिएको हो ।

इन्स्टिच्यूटका प्रमुख डा. सुवास ठाकुरका अनुसार रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको उपचार शुरु गरिएको छ । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । यी सबै सेवाहरु नेपाल सरकारले तोकेको शुल्कमा गरिंदै आएको उहाँले बताउनुभयो ।

अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शैयाको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको छ । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।

डा.ठाकुरका अनुसार टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि ल्याएको छ । यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र रहेको ट्यूमरलाई भित्रै सेकाएर नष्ट गर्न सकिन्छ । यस्तै एसबिआरटि (स्टेरियो टेक्टिक बडि रेडिएसन थेरापी) सेवा पनि शुरु गरिएको छ । यसले शल्यक्रियाबिना शरीरका अंगहरुमा रहेको क्यान्सरका ट्यूमरहरुलाई नष्ट गर्दछ । डा ठाकुरका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो उपयोगी हुन्छ । यसैगरी शल्यक्रिया गर्नै नमिल्ने गरी फैलिएको क्यान्सरको उपचारमा पनि यो प्रविधि सहज हुने उहाँको भनाई छ ।

ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी प्रयोग हुने गर्दछ ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार क्यान्सर इन्स्टिच्यूटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक छन् । रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक उपकरण ल्याईसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले भित्र्याएका उपकरण क्यान्सर उपचारमा पछिल्लो समय विकास भएका आधुनिक उपकरण हुन् । जुन नेपालमा अझै भित्रिएका छैनन् ।” कतिपय भारतमा समेत नभएको उपकरण भित्र्याईएको देवकोटाको भनाई छ ।

सरकारी क्यान्सर अस्पतालमा रेडिएसन सहितको उपचारका लागि महिनौं पालो कुर्नुपर्ने भए पनि सरकारी दररेटमै आफूहरुले आजको भोलि सेवा दिन शुरु गरेको देवकोटाले बताउनुभयो । क्यान्सर उपचारका लागि सहयोगी हुने अन्य उपचार सेवा र उपकरण मेडिकल कलेजमा भएकाले उपचारमा सहज भएको देवकोटा बताउनुहुन्छ । अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, ए ग्रेडको प्रयोगशाला रहेका छन् । यो मेडिकल कलेज देशभरमा धेरै बिरामी उपचार गर्ने मध्यमा पर्दछ ।

जिल्लामा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि बिरामी आउने गर्दछन् । त्यहाँ उच्च चापका कारण पालो कुर्नुपर्ने र बाहिर जानु पर्ने बिरामीलाई यही सेवा दिन सकिने देवकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !